रोशी गाउँपालिकाले ८औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई नगद २५ हजार सहित उत्कृष्ट रोशी सेवा पुरस्कार प्रदान गरियो भने जिन्सि शाखा प्रमुख जयप्रसाद गजुरेल, वडा नं. ११ का वडासचिव मानबीर लामा र लेखा शाखाका कम्प्युटर अपरेटर पेमा नाम्गेल लामालाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र, मेडल, दोसल्ला प्रदान गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले उत्कृष्ट कार्यसम्पादन भएका कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कृत गरिएको बताउनुभयो । जनप्रतिनिधिहरूको योजना र कर्मचारीहरूको मिहेनतले गाउँपालिका सबै क्षेत्रमा उत्कृष्ट हुदै गएको उहाँको दाबी रहेको छ । गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाले गाउँपालिका बनेपछि सबै क्षेत्रको विकासमा सहयोग पुगेको बताउदै जनप्रतिनिधिको योजना र भिजन पूरा गर्न कर्मचारीको सहयोग चाहिने तर्क गर्नुभयोे ।
