काभे्रपलाञ्चोक जिल्ला कृषि एवं पशुजन्य उत्पादन खाद्यान्न, तरकारी, दुध तथा मासुजन्य बजारमुखी उत्पादनको हिसाबले अग्रस्थानको जिल्ला हो । कृषि क्षेत्रको व्यवसायिक विकास, आधुनिक खेती प्रणाली, कृषि औजारको प्रयोगबाट उत्पादनमा वृद्धि ल्याई कृषकहरुको आर्थिक उन्नति प्रगतिको लागि जिल्ला समन्वय समिति काभे्रको आयोजनामा बृहत्त काभे्र कृषि महोत्सव २०८० फागुन ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भई सम्पन्न भएको छ । बनेपा नगरपालिका, कृषि विकास कार्यालय धुलिखेल, पशु सेवा कार्यालय, काभे्र उद्योग वाणिज्य संघ बनेपाको संयोजनमा कृषि महोत्सव सम्पन्न गरिएको हो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको उक्त समारोहमा जिल्ला समन्वय समिति काभे्रका प्रमुख एवं महोत्सव आयोजक समितिका संयोजक दिपक गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । महोत्सवलाई भव्य र सभ्य बनाउँदै करीब ६० हनार नागरिकहरुले भ्रमण गरेको अनुमान गरिएको छ । दुई सय स्टलबाट आ आप्mनो व्यापार व्यवसायमा प्रर्वद्धन समेत भएको आयोजकको ठम्याई छ । “बजारमुखी एवं निर्यातयोग्य कृषिको उत्पादन, समृद्ध तथा समुन्नत अभियान”नारासहित सम्पन्न बृहत काभे्रपलाञ्चोक कृषि महोत्सव २०८० मा काभे्र जिल्लाको १३ वटा स्थानीय सरकारको समेत सहयोगमा सञ्चालित कृषि महोत्सवले वास्तविक कृषक, उद्योगी, व्यवसायी, कसरी लाभान्वित हुन सके , महोत्सवबाट प्राप्त उपलब्धी के के भए, स्थानीय सरकारले कृषकहरुको हित र कृषि तथा पशु क्षेत्रको विकासमा कस्तो सहयोग पुर्याउन सकेको छ ? कृषकहरुको मनको कुराको सवालमा पत्रिकाका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने र प्रतिनिधि हरिनाथ न्यौपानेले गरेको कृषकहरुसँगको सम्वादको भनाईलाई उजागर गरिएको छ ।
कृषि उपजको उचित मुल्य यहाँ पायौं
विष्णु माया थिङ
महाभारत साना किसान कृषि सहकारी संस्था, महाभारत-६
महोत्सव धेरै राम्रो लागेको छ । हामीले कृषि पेशाबाट उत्पादन गरेका सामाग्रीको उचित मुल्य यहाँ पाएका छौं । महाभारत गाउँपालिकाले पनि यहाँ आउन सहयोग गर्यो । किसानको समस्या लाई सबैले सहि ढङ्गले समाधान गरिदिएमा हामिहरुलाई पनि हौसला मिल्ने थियो । कृषिजन्य उपजको विक्रि वितरणमा विचौलियाको हाभी भो त्यसको अन्त्य गर्न हरेक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गरी यातायात ढुवानीमा स्थानीय सरकारले आर्थिक रुपमा जोह गर्नुपर्छ ।
कृषि उपजको बजारीकरणमा समस्या
हेमन्त कुमार घिमिरे
खानीखोला गा.पा, कृषि एवं पशुपंक्षी शाखा
महोत्सव विशुद्ध किसानका समस्याहरु बुझ्न सकिने स्थल बनेको छ । रैथाने बाली प्रर्वद्धन , लोकल खाद्यानको महत्व आम नागरिकले बुझ्दै गएका छन् । स्वास्थ्यको लागि उपयुक्त खाद्यानहरु खानीखोलाको भुगोलमा पाइएता पनि बजारीकरणको समस्या किसानहरुले भोग्दै आएका छन् । महोत्सवले केहि मात्रामा भएपनि सम्बोधन गरेको छ । समग्रमा महोत्सव अन्यत्रको भन्दा सभ्य एवं भव्य रुपमा सम्पन्न भयो । स्थानीय सरकारले कृषि उपजको बजारीकरणमा सघाउनुपर्छ ।
बजारीकरणका लागि सकारात्मक
रमेश कुमार ठकुरी
अनिशा कृषि र्फम, चौरीदेउराली -६
महोत्सव स्थलको चौविसै घण्टा सुरक्षा, अप्ठ्यारोमा परेकालाई खानपिन , बसोबास, सजावट पृथक रहेको छ । आफुले उत्पादन गरेका सामाग्रीको उचित मुल्य र बजारीकरणका लागि समस्या भोग्दै आएपनि यहाँबाट थप ग्राहकहरुसँग चिनजान भएको छ । आगामी दिनमा पनि हामीले उत्पादन गरेका एभोकाडो, ड्रागन फुड, लगायतका सामाग्रीहरु किन्ने बचन दिनुभयो, धेरै खुसी लागेको छ ।
नेताहरुले किसानप्रति राखेको धारणा व्यवहारमा परिणत हुनुपर्यो
अनुप गौतम
मदानी डेरी प्रा.लि, बेथानचोक- १
मदानी डेरीले दुग्धजन्य सामाग्रीहरुको उत्पादन र बजारीकरण गरिरहेको छ । डेरी सञ्चालन गर्दै गर्दा कृषि महोत्सवमा राजनैतिक दलका नेताहरुले किसान प्रति राखेको सकारात्मक दृष्टिकोण व्यवहारमा परिणत हुनेमा आशावादी रहेको छु । महोत्सव सफल भएको महसुस गरेको छु । कृषि, पशुपालनबाट केहि गर्न सकिन्छ भन्ने शाहस आएको छ र शुद्ध अर्गानिक खेतिलाई प्राथमिकतामा राखि सरकारले काम गर्नुपर्ने देख्दछु ।
युवा तथा जेष्ठ दुवैले मौरीपालन गर्न सक्छन्
सुवासचन्द्र सुनुवार
बनेपा मौरीपालन तथा कृषि पशुपंक्षि फर्म, बनेपा -१३
कृषि महोत्सवको व्यवस्थापकिय पाटो राम्रो लागेको छ । मौरीपालन व्यवसाय प्रर्वद्धनका लागि स्थानीय सरकारले प्रर्वद्धन गर्नुपर्ने देख्दछु । युवा, वृद्ध, महिला, पुरुष जो सूकैले पनि सजिलै मौरीपालन गरी आयआर्जन गर्न सक्दछन् । स्वास्थ्यको लागि मह अति महत्वपूणर् भएकोले विशेषगरि युवाहरुलाई आकर्षित गर्नुपर्दछ । जिल्ला समन्वय समितिले व्यवस्थित रुपमा कृषि महोत्सव गरी हामि किसानहरुको मन जितेको छ । नगरपालिकाले व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्न बजेट व्यवस्थापन गरी बजारीकरणमा सहयोग पुर्याउनु पर्छ ।
कृषि पेशामा गरेको कार्यको मुल्याङ्कन भएको छ
उपेन्द्र तिमल्सिना
फुलचोकी बहुउदेश्यीय नमूना नर्सरी, पनौती -१
महोत्सवको माध्यमबाट हामीले कृषि पेशामा गरेका कामहरुको मुल्याकंन भएको महसुस गरेको छु । महोत्सव वर्षमा एक पटक गर्नुभन्दा पनि प्रत्येक हप्ता हाट बजार सञ्चालन गरि कृषकहरुले उत्पादन गरेका सामाग्री बेचविखन गर्न पाएमा केहि फाइदा हुने थियो । कृषि पेशामा मौलाएको विचौलियाको अन्त्य हुनु पर्दछ र रैथाने बालीलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था हुनुपर्ने माग गर्दछु । समग्रमा महोत्सवले उत्साह थपेको छ । मध्यमार्ग कृषी सहकारी संस्था सँग मिलेर हामीले स्टल राखेका हौं । अलैंचि, किवि, घाँसका बिउविजन, मकैको बिउविजनका लागि पनि हामिलाई सम्पर्क राख्न सक्नुहुनेछ ।
स्थानीय तहमा हाट बजारको आवश्यकता छ
विमल दुलाल
लबग्रिन नेपाल, शाखा कार्यालय पाँचखाल-६
महोत्सव स्थल साघुँरो भएपनि किसानहरुमा उत्साह छाएको छ । रैथाने बालीप्रति रुचि, पुराना सामग्री प्रतिको मोह, कृषि बाली प्रति आकर्षण, प्रकृति नर्सरी प्रति चासो सम्पूणर् स्टल अवलोकनकर्ता हरुको पाएको छु । जिल्ला समन्वय समितिले सबै पालिकाहरुसँगको साझेदारीमा गरेको कृषि महोत्सव निरन्तर आयोजना गरि कृषि पेशालाई मर्यादित र व्यवस्थित बनाउनु पर्दछ । सबै स्थानीय तहमा हाट बजारको व्यवस्था भएमा उत्पादित सामाग्री कृषकहरुले सहजै विक्रि गर्न पाउने थिए । लबग्रिन नेपालले आइ.पि.एम ताजा तरकारी, रैथाने बाली, प्रकृति नर्सरीलाई विशेष जोड दिइरहेकोले इच्छुक व्यक्तिहरुले कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ ।
कृषि जन्य उपजको लागि सितभण्डारण गर्ने प्रबन्ध गर्नुपर्यो
राजु सत्याल
मथुरेश्वर साना किसान कृषि सहकारी संस्था, नमोबुद्ध - १
कृषि महोत्सवको समय सिजनेवल नभएता पनि किसानहरुमा छुट्टै खुसी छाएको छ । आगामी वर्षको लागी कुन महिनामा महोत्सव हुने कुरा अग्रिम जानकारी भएमा किसानहरुलाई पनि छुट्टै जाँगर हुने थियो । महोत्सवको उद्घाटन गर्न आउनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई स्टल भ्रमण नगराई पठाउनु आयोजकको ठुलो कमजोरी हो । आगामी दिनमा महोत्सव गर्दा थप कमजोरीहरुलाई सुधार गरियोस र आयोजक सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । हरेक पालिकाले कृषि महोत्सव गर्नुपर्छ । सित भण्डारणको प्रबन्ध गर्नुपर्छ ।
