भारतीय विश्वविद्यालय संघ र काठमाण्डौ विश्वविद्यालयले संयुक्त रुपमा आयोजना गरेको अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा सम्मेलन समापन भएको छ । गत फागुन ३ गते प्रधानमंत्री एवं काठमाण्डौ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिएको दक्षिण एशिया क्षेत्रकै यस किसिमको वृहत्तर उच्च प्राज्ञिक सभाको समापन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं काठमाण्डौ विश्वविद्यालयका सहकुलपति अशोक राईको प्रमुख आतिथ्यमा भएको थियो । भव्यताका साथ समापन गरिएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री राईले अबको उच्च शिक्षा एशियाकेन्द्रित अवधारणामा हुनुपर्ने कुरा औंल्याउँदै त्यसका लागि नेपाल सरकारले नीतिगत तह र व्यवहारिक पक्ष दुबैमा काम गरिरहेको र यस किसिमको अन्तरराष्ट्रिय सम्मेलन सोका लागि सहायक हुने बताउनु भयो ।
स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपालको उच्च शिक्षाको ईतिहासमा उक्त सम्मेलनको महत्वको बारेमा चर्चा गर्नु भयो । उहाँले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर विश्वविद्यालय सहकार्य तथा वैश्विक उच्च शिक्षा जस्ता गहन विषयमा यतिधेरै संख्यामा उच्च शिक्षाका नेतृत्ववर्ग एकै ठाउँमा भेला भई छलफल गर्नु आफैंमा एउटा उदाहरण भएको र काठमाण्डौ विश्वविद्यालयले त्यसको आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउनु भयो । भारतीय विश्वविद्यालय संघका अध्यक्ष जि डी शर्माले अहिले नेपाल र भारतका ८०% भन्दा बढी विद्यार्थीहरुको शैक्षिक गन्तव्य पश्चिमी मुलुकहरु हुने गरेको र उनीहरु पढाई सकेर विरलै स्वदेश फर्कने गरेको बास्तविकताका वीच संघ तथा काठमाण्डौ ाण्डौ विश्विविद्यालयले सहकार्य गर्दै विद्यार्थी बहिर्गमनलाई रोक्न रचनात्मक भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।
समारोहमा सम्मेलन प्रतिवेदन प्रश्तुत गर्दै काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्यूत वाग्लेले उच्च शिक्षाका चुनौती र अवसरहरुका बारेमा स्थानीय र विश्वव्यापी रूपमा छलफल गर्दै सम्मेलनले साझा मुद्दामा सहमति सहित साझेदारी निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको बताउनु भयो । उच्च शिक्षाका संभावना तथा चूनौतिहरु सामना गर्न साझा रणनीति तयार गर्न यस किसिमका सम्मेलनहरु भारत भरका विश्वविद्यालयहरु वीच स्थानीय तहमा आयोजना हुँदै आएकोमा यस वर्ष भारतीय विश्वविद्यालय संघले त्यसलाई अन्तरराष्ट्रियकरण गर्दै नेपालमा आँयोजना गरेको गर्नुको उद्देश्य शिक्षा क्षेत्रमा आईरहेको वैश्विक विषयमा वहस प्रारम्भ गर्नु र समान अवधारणा विकास गर्नु रहेको भारतीय विश्वविद्यालय संघकी महासचिव डा. पंकज मित्तलले दिनुभयो ।
उच्च शिक्षा र वैश्विकरणका विभिन्न आयामहरुलाई विभिन्न तीन सत्रहरुमा विभाजन गरेर छलफल गरिएको कार्यक्रमको पहिलो सत्रमा सहभागीहरूले अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम, र प्राज्ञिक साझेदारीका फाइदाबारे छलफल गर्दै उच्च शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका साझा मार्ग निर्माणका संभावनाको खोजी गरेका थिए ।
त्यसैगरी दोस्रो सत्रमा शैक्षिक क्षेत्रको नियमन र नीति निर्माणका साझा मुद्दाहरु, जस्तै, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता विषयहरूमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता सहित आगामी कार्यदिशा पहिल्याउने प्रयास भएको थियो भने तेस्रो सत्रमा विद्यार्थी गतिशीलता र त्यसको विविध अन्तर्राष्ट्रिय अनुभवका बारेमा छलफल भएको थियो जसमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरु प्रवर्धन गर्ने तरिकाहरू, विश्वविद्यालयमा समावेशीता, सदासयता र सांस्कृतिक विविधतामा शैक्षिक वातावरण विकास गर्दै वैश्विक तादात्म्य खोज्ने कार्य भयो । आ-आफ्ना विशिष्ठिकृत अनुभव र दृष्टिकोणकोलाई उच्चाशिक्षाको समृद्धिमा रुपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्दै समाप्त अन्तर्राष्ट्रिय उपकुलपति सभामा उच्चशिक्षाको क्षेत्रका समकालीन संभावना, साझा मुद्दा तथा समान सहभागिताका लागि रणनितिक साझेदारी पहिल्याउने प्रतिबद्धता व्यक्त गरियो ।
