लायन्स क्लब अफ काठमाडौं वन्डर उमन र रक्तदाता समुहको सहयोगमा गुल्मीका उपचाररत बालकको मलद्धारको सफल शल्यक्रिया भएको छ । जन्मजात मलद्धार बन्द भएका गुल्मीका ७ वर्षिय बालकलाई आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकिरहेको थाहा पाएपछि गुल्मी जिल्लामा रक्तदानको क्षेत्रमा काम गर्दै आएका धुव्र पाण्डेले नेपाल स्वयंमसेवी रक्तदाता समाज न्युरोडका अध्यक्ष केदारप्रसाद न्यौपानेलाई खबर गरि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । अध्यक्ष न्यौपानेले लायन्स क्लव अफ काठमाडौं वन्डर उमनकी संस्थापक अध्यक्ष मेघा तिमल्सिनासँग समन्यव गरि उक्त बालकलाई शल्यक्रियाका लागि काठमाडौंस्थित मोडेल हस्पिटलमा भर्ना गराइएको थियो ।
जन्मजात विभिन्न रोगहरुबाट ग्रसित बालकका बुवाआमा आर्थिक रुपले एकदमै कमजोर भएका कारण राम्रोसँग उपचार गर्न नसकिरहेको परिस्थितिमा वन्डर उमन र रक्तदाता समाजले ती बालकको उपचारका लागि सहयोग गरेको जनाएको छ । जन्मजात मलद्धार बन्द भएर जन्मेका कारण जन्मेको १३ औं दिनदेखि पेटबाट आन्द्रा बाहिर निकाली शौच गराउँदै आएको बिरामीका बुवा बाबुराम विश्वकर्माले जानकारी दिए ।
छोराको उपचारका लागि धेरै पैसा खर्च भइसकेको बताउँदै उनले आफ्नो पनि फिस्टुलाको भर्खरै अपरेशन गरेको र केही काम गर्न नसक्ने भएको हुदाँ आर्थिक अवस्था कमजोर भएको बताए । अहिले वन्डर उमन र रक्तदाता समुहबाट गरेको सहयोगले छोरालाई चाँडै निको हुनेमा उनी विश्वस्त छन् ।
पैसाको अभावमा छोराको उपाचार गराउन नपाईरहेको अवस्थामा पाएको सहयोगले आफूलाई स्वंय भगवान् आएर सहयोग गरेको महशुस भएको बताउँदै बिरामीकी आमा कमला विश्वकर्माले सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरिन् ।छोरालाई उपचार गराउँदा गराउँदै ४ लाख रुपैया ऋण लागिसकेको बताउँदै उनले थप उपचारको लागि अन्य संस्थाहरुबाट पनि सहयोगको अपेक्षा रहेको बताईन् ।
वन्डर उमनकी संस्थापक अध्यक्ष तिमल्सिनाले बिरामी बालकको खबर पाउनासाथ बालकलाई काठमाडौं झिकाएर आप्mना साथीभाइहरु सँग पैसा संकलन गरि सहयोग गरेको बताईन् । उनले अप्रेशनका लागि डाक्टर मनोज श्रेष्ठसँग सल्लाह लिएर शल्यक्रियाको काम अघि बढाएको बताइन् । बिरामीको सम्पुर्ण उपचार खर्चको जिम्मा वन्डर उमन र रक्तदाता समुहले लिएको बताउँदै उनले बिरामीको परिवारलाई एकहप्ता काठमाडौंमै आग्रह गरेको बताईन् ।
वन्डर उमनकी उपाध्यक्ष सुलेना श्रेष्ठले वन्डर उमन विशुद्ध मानवीय कार्यहरु गर्न स्थापना भएको संस्था हुनाले स्थापनाकालदेखि नै रक्तदान, हेल्थ क्याम्प, महिलाको पाठेघरको चेकजाँच खाद्यन्न, लत्ताकपडा वितरण, शौचालय स्थापना जस्ता कार्यहरु पुरा गरिसकेको बताइन् ।
