जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा ट्राफिक सप्ताह २०८० विहिबारबाट शुरु भएको छ । सप्ताहको छैटौं दिन आज (मंगलबार) चालक तथा सह चालकहरुको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम तथा सवारी साधनहरुको यान्त्रीक परीक्षण गरिनेछ । भोलि अन्तिम दिन फागुन २ गते बुधबार ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवालाहरुसँग अन्र्तक्रिया गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेले जानकारी दिनुभयो । ट्राफिक सप्ताह २०८० को उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लापरवाही गरी चलाएका सवारी साधनबाट हुनसक्ने दुर्घटना न्यूनिकरण गर्न समुदायमा सचेतना गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण भईरहेका सडकमा खाल्डाखुल्डी पुर्ने तथा निर्माणका सामाग्री हटाउन र ब्यवस्थित गर्न निर्देशन दिएको समेत शर्माले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी किसन सिं थापा,जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकाल,नेपाल पत्रकार महासघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले ट्राफिक सप्ताह २०८० ले सचेतना फैलाउने कुरामा बिश्वास व्यक्त गर्नुभयो । ट्राफिक सप्ताहको पहिलो दिन प्रभातफेरी सहित लामो दुरीका सवारी साधनहरुमा ब्यानर तथा स्टिकर टाँस ,दोस्रो दिन स्वंयसेवक परिचालक मार्फत सडक प्रयोगकर्ताहरुलाई बाटो काट्ने अभ्यास, सचेतना स्टिकर टाँस, पर्चा पम्लेट वितरण, तेश्रो दिन ग्रामिण सडक लक्षित कार्यक्रम, बढि भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन, चौथो दिन सवारी चालकहरुसँग ५ मिनेटको कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण दिइएको थियो भने पाँचौ दिन विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम, गाउँगाउँमा आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना गराईएको थियोे ।
