अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ७ महिनामा १९ हजार बढी उजुरी परेका छन् । नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख घुससहित बुधबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई पक्राउ गरेको हो । यस्तै टोलीले राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई पनि पक्राउ गरेको छ । दुई जना मिलेर जग्गा हालसाविक एवं किक्ताकाट गरि पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । चौलागाई र पोखे्रललाई एक लाख रुपैँया घुस लिइसकेको अवस्थामा उक्त रकम सहित नापी कार्यालायबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
उसैबीच घुससहित पक्राउ परेका जितपुर सिमारा उपमहानगरपालिका ३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । बुधबार नै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले वडाअध्यक्ष कार्की विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता दायर गरेको हो । घुससहित पक्राउ परेका वडा अध्यक्ष कार्की अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएको हुँदा उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन , बमोजिम पाँच लाख विगो सहित कैद सजायको मागदाबी लिई मुद्धा दायर गराइएको अख्तिियारले जनाएको छ । पुष २ गते घरबाटो सिफारि गरिदिने प्रयोजनार्थ सेवाग्राही सँग पाँचलाख घुस लिएको अवस्थामा वडाअध्यक्ष कार्कीलाई हेटौंडाबाट गएको अख्तियारको टोलीले घुस बापतको रकमसहित पक्राउ गरेको हो ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा आ.व २०८०÷०८१ को ७ महिनामा १९ हजार ९ सय ७० वटा उजुरी दर्ता भएका छन् । आयोगका अनुसार साउन महिनामा मात्र ३ हजार ३ सय ६६ वटा उजुरी दर्ता भएका छन् । यस्तै भदौमा मात्र २ हजार ४ सय ८ , असोजमा २ हजार २ सय ६५, कात्तिकमा १ हजार २ सय ८९, मंसिरमा ३ हजार ६ सय ७०, पुसमा ३ हजार ५ सय ५८ वटा उजुरी परेको छ । यस्तै माघमा ३ हजार ४ सय १४ वटा उजुरी परेको आयोगले जनाएको छ । पछिल्लोे समय आयोगमा उजुरी संख्याको चाङ बढ्दै गएको आयोगले जनाएको छ ।
