IMG-LOGO

बनेपा बडा नं. ९ का अध्यक्ष बादे धरौटीमा छुटे

 मंगल, फागुन १, २०८०  ---

     काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे विरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले १५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । आईतबार साँझ नै बादे १५ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । उनलाई २०८० माघ ३ गते साँझ भक्तपुरबाट घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

       जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष नृपेश बादेलाई सेवाग्राहीबाट रु.१५,००,०००।– (पन्ध्र लाख रुपैयाँ) घुस÷रिसवत लिइसकेको अवस्थामा मिति २०८०।१०।०३ गते नियन्त्रणमा लिइएको थियो ।

       अनुसन्धानको सिलसिलामा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का बडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.१५,००,०००।– (पन्ध्र लाख रुपैयाँ) घुस÷रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१५,००,०००।– (पन्ध्र लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई माघ २६ गते विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

       विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशद्धय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा भएको थुनछेक बहसबाट बादेलाई घुस लिए बराबरको रकम धरौटी माग गरेको हो । विशेष अदालतका उप रजिस्ट्रार, प्रवक्ता तथा सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार बादे विशेष अदालतको आदेश अनुसार धरौटी बुझाएर रिहा भएका हुन् । घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यक्ष बादेको साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ पनि बरामद गरेको थियो ।

       काठमाडौ जिल्ला अदालत, काभ्रेपलाञ्चोक जिल्ला अदालत, उच्च अदालत पाटन, मालपोत कार्यालय काभ्रेपलाञ्चोक, नापी कार्यालय काभ्रे लगायतका निकायबाट भएको निर्णय, फैसला कार्यान्वनका क्रममा २०७० पुष ७ गते देखि वडा कार्यालयमा सिफारिसका लागि पुगेका सेवाग्राही रामेछाप जिल्ला गुम्देल गाविस वडा नम्वर ४ घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ६ बौद्ध महांकाल बस्ने ४७ बर्षिय वाङछु शेर्पा पछिल्लो पटक उच्च अदालतको १५ दिने परमादेश बोकेर २०८० साल असोज २४ गते बनेपा नगरपालिका वडा नम्वर ९ को कार्यालयमा पुगेका थिए । सेवाग्राहीलाई तथ्य, प्रमाण र मुलुकका आधिकारीक निकायले सिफारिस दिनु, नरोक्नु, रोक्नुपर्ने कुनै कारण छैन भनेर गरेको परमादेशलाई समेत वडा अध्यक्ष नृपेश बादेले अस्विकार गरेको उजुरीमा लेखिएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्