बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजतमहोत्सव समारोह बनेपा स्थित होटल उग्रचण्डी एण्ड बैंक्वेट बनेपामा सम्पन्न गरेको छ । संस्था सञ्चालनको २४ औं वर्ष पार गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा विशेष समारोह आयोजना गरिएको हो । बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी. सभापति हुनुहुन्थ्यो । प्रमुख अतिथि मन्त्री महर्जनले बुडोल सामुदायिक साकोस जस्तो राम्रो सहकारी कमै मात्र पाएको बताउँदै बागमति प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पछिल्लो सयम सहकारी क्षेत्रको बदनाम गराउन चालिएका विभिन्न कदम देखि चिन्तित भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो – ‘ऐन नै संशोधन गरेर भएपनि सहकारी क्षेत्रको दिगो विकासमा लाग्ने सहकारीको ऋण असुलीको विषयलाई प्राथमिकतामा राखिनेछ भन्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपाल, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्षदामोदर अधिकारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य रामहरि बजगाई हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा बागमति प्रोस्कुनका कोषाध्यक्ष केशवदंगाल, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिपशर्मा, काभ्रे जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ, बुडोल सामुदायिक साकोसका प्रमुख सल्लाहकार रामहरि के.सी., नेपालपत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, मनोहरा कृषिशीत भण्डार प्रा.लि.का अध्यक्ष विशाल हुमागाईं लगायत काभ्रे जिल्लामा अवस्थित विभिन्न सहकारी संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम उद्घाटन प्रमुख अतिथिबाट सहकारीका पिताबखान सिं गुरुङ र एफ.डब्लु. राइफैसनको तस्बिर मा माल्यार्पण तथा मुख्य पानसमा दीपप्रज्वलन तथा सभापति तथा अन्य अतिथिबाट अन्य २४ वटा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो । संस्थाले आफ्नो रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम साथसाथै सामाजिक उत्तरदायित्व वहनगर्दै विभिन्न सामाजिक क्रियाकलाप गरेको थियो । कार्यक्रममा संस्थाले प्रकाशन गरेको ‘बुसा रजत स्मारिका’लाई प्रमुख अतिथि बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र कार्यक्रमका सभापति कैलाश के.सी.ले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा बुडोल सामुदायिक साकोस विगतदेखि वर्तमान सम्म अवस्था झल्कने भिडियो सामाग्री प्रस्तुत गरिएको थियो ।
बुडोल सामुदायिक साकोसले सहकारी क्षेत्रमा योगदान दिने व्यक्तिलाई वर्षेनी ‘बुसा सहकारी साधना सम्मान’बाट सम्मान गर्दै आएको छ, यो वर्ष भने सहकारी विज्ञ, सहकारी क्षेत्रमा योगदान पु¥याउनु भएका रामहरि के.सीलाई सम्मान गरेको छ । त्यस्तै ‘बुसा दीर्घ सेवापदक’ बाट संस्थाको स्थापना कालदेखि सेवा गर्नुभएका हालका प्रमुखकार्यकारी अधिकृत विवेकराज ठकुरीलाई सम्मान गरिएको छ । त्यस्तै संस्थाले रजत महोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय सहकारी निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै संस्थाले उत्कृष्ट सदस्य सम्मानबाट असल ऋणी २ जना, उत्कृष्ट बचतकर्ता २ जना, अधिकतम शेयर खरिदकर्ता २ जना, उत्कृष्ट बालबचतकर्ता २ जना र अधिकतम संरक्षितपूँजीफिर्ता कोषबाट लाभलिने २ जना सदस्यलाई सम्मानगरिएको थियो ।
बुसा विशिष्ट सदस्य सम्मानबाट निजामति सेवा, सामाजिक सेवा, सुरक्षा सेवामा उच्चतहमा रहि सेवा गर्नुभएका सदस्यलाई सम्मान गरिएको थियो । बुसा शैक्षिक सम्मान तर्फ स्नात्तकोत्तर, स्नातक र दशजोड दुई उत्तीर्ण गर्ने २३ जना सदस्यलाई सम्मानगरिएको थियो । त्यस्तै संस्थापक सञ्चालक सम्मानबाट संस्थापक सञ्चालकहरुलाई सम्मान गरिएको थियो । साथै पूर्व सञ्चालक सम्मानबाट ८२ जनापूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको ३१ औं साधारण सभाबाट नवनिर्वाचित अध्यक्षओमदेवी मल्लसहितका पदाधिकारी र नेफ्स्कुनको ३२ औं साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल सहितका पदाधिकारीहरुलाई कार्यक्रममा उपस्थित विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपाल र नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीलाई बधाई तथा शुभकामनापत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा उत्कष्ट कर्मचारी सम्मानबाट संस्थाकाकर्मचारी अशोक खत्रीलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो । साथै संस्थाले रजतमहोत्सवको अवसरमा आयोजित सेल्फ मेकअपतालिम मा प्रशिक्षकको भूमिकानिर्वाह गर्नुभएकी प्रशिक्षक सुनितामल्ल ठकुरीलाई प्रसंशापत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहित संस्थाको संक्षिप्त परिचय संस्थाका अध्यक्ष कैलाश के.सी.ले राख्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्था सहसचिवप्रकाशभुर्तेल र वरिष्ठ कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले संयुक्त रुपमा गर्नुभएको थियो ।
