धुलिखेल नगरपालिका वडा नम्वर ७ मा रहेको काभे्र जिल्लाकै सान पहिलो इङ्गलिस स्कुल, नमुनाको रुपमा परीचित विद्यालय सञ्जीवनी नमुना माध्यमिक विद्यालयले ७४ औ बार्षिकोत्सव मनाएको छ । बनेपाका प्रेमबहादुर राजवंशीले धुलिखेलमा सञ्जीवनी विद्यालयको स्थापनाको गर्नुभएको हो । उहाँको नेतृत्वमा १२ जना शिक्षासेवीहरुले २००६ सालमा जिल्लाका प्रथम अंग्रेजी स्कुलका रुपमा सञ्जीवनीको स्थापनागर्नुभएको थियो ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा अध्यक्ष बेदप्रसाद कोँजुको सभापतित्वमा सम्पन्न ७४ औ बार्षिकोत्सव कार्यक्रममा पुरस्कार वितरण तथा अभिभावक दिवस आयोजना गरिएको हो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको समग्र अवस्थाका बारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक टंक थापाले स्वागतमन्तव्य राख्नुभएको थियो । विद्यालयको समग्र आर्थिक प्रतिवेदन लेखा तथा प्रशासन प्रमुख श्रीओम ब्याञ्जुले प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०८० का लागि १ हजार ३ सय ६ जना विद्यार्थीहरुले उक्त विद्यालयमा अध्ययनरत छन् ।
भौतिक पूर्वाधार र शैक्षिक अवस्था
पुर्व प्राथमिक तह, आधारभुत तह तथा माध्यमिक तहको कक्षा १२ सम्म विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या १ हजार ३ सय ६ रहेको छ । ६ सय २८ जना छात्र र ६ सय ७८ छात्रा रहेको विद्यालयमा १ सय १७ जना दलित, ३० जना अपाङ्गता, १५ जना सिमान्तकृत बालबालिकाहरुले अध्ययन गरिरहेका छन् । ९ वटा भवन रहेको उक्त विद्यालयमा ३२ वटा कोठामा दैनिक पढाई हुने गरेको छ । २०७२ सालको भुकम्प पछि निर्मित भवनहरुको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । भएका मध्ये ५ वटा भवन मात्रै भुकम्प प्रतिरोधात्मक हुन् । बालमैत्री र सिकाई मैत्री फर्निचर ३ सय वटा छन् । खानेपानी, शौचालय, खेलमैदान सहित सिकाई सामाग्री भएको खेल सहितका बालविकास कक्षाहरु पनि संचालन छन् । विद्यार्थीको अनुपातमा शिक्षक संख्या कम छ । स्थायी, अस्थायी, करार तथा नीजि श्रोतमा समेत गरी ५३ जना शिक्षक र १८ जना कर्मचारी कार्यरत रहेको विद्यालयको सिकाई उपलब्धी बृद्धि औषत २.८ जिपिए रहेको छ । विद्यालय बस तथा अन्य सुविधा पर्याप्त रहेको विद्यालयमा शैक्षिक सुधारका लागि थप योजना तथा अभिभावक शिक्षा लगायतका कार्यक्रमहरु भईरहेका छन् । २ सय ६९ दिन विद्यालय खुलेकोमा २ सय २० दिन माध्यमिक तहमाअध्यापन गराउँदै आएको छ। । औषत शिक्षण सिकाई समय १ हजार ५० घण्टा समेत रहेको छ ।
बार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि अशोक ब्याञ्जुले गौरवसालीे इतिहास बोकेको सञ्जीवनी जिल्लाकै धेरै विद्यार्थीलाई अध्ययन गराउने विद्यालयका रुपमा मात्रै नभई गुणस्तरीय तथा फरक धार र फरक स्तरीय क्षमता भएका विद्यार्थीहरुलाई समेत अध्यापन गराउने, उद्यमशिलतासँग जोड्ने ब्यवसायीक रुपमा शिप प्रदान गर्ने विद्यार्थी उत्पादन गर्ने, नैतिक र चरित्रवान ब्यक्ति तयार गर्ने तथा दक्ष जनशक्ति उत्पादन गरिरहेको विद्यालयका रुपमा परिचित भएको बताउनुभयो । विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक पर्ने थप ब्यवस्थापनका लागि स्थानीय सरकारका रुपमा अभिभावकत्व ग्रहण गरिरहेको प्रमुख अतिथि ब्याञ्जुले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयको गुणस्तरलाई थप मजबुद बनाउने बताउनुभयो । ।बार्षिकोत्सवको अवसरमा ६ जना एसईई उर्तिण विद्यार्थीहरुलाई स्वर्ण पदक वितरण गरिएको थियो भने ८ जनालाई पदक तथा कदर पत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा विज्ञान शिक्षक प्रमुख हरिण चन्द्र बरुण, श्रीओम व्याञ्जु श्रेष्ठ, रामशरण कार्की, इन्द्र बस्नेत र बद्री तिमल्सिना रहनुभएको छ । प्रमुख सेनानी शिवराम थापा, प्रशिक्षण नरेन्द्र अधिकारी, प्रशिक्षक मोहन मल्ल, लगायत सम्मनित हुनुभएको थियो । सहयोगीहरुलाई सम्मान, भुपु शिक्षकहरुलाई सम्मान, २० वर्ष भन्दा धेरै सेवा गर्ने शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । विद्यालयका लेखा तथा प्रशासन प्रमुख श्रीओम ब्याञ्जुले शैक्षिक सत्र २०७९÷२०८० को ४ करोड ६८ लाख ७ हजार १ सय रुपैयाको आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए । शिक्षा समन्वय इकाईका प्रमुख देवका ढकाल, धुलिखेल–७ का अध्यक्ष रोमी व्यञ्जु, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र शाही लगायतले विद्यालयले पु¥याएको शैक्षिक योगदानका बारेमाबोल्नुभएको थियो ।
