सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सरकारले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको बताएकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ बारे बोल्दै मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमले स्वतन्त्र ढङ्गले जनता र सरकारबीचको पुलको काम गर्नुपर्ने धारणासहित प्रस्तावित विधेयक अघि बढाइएको बताइन् । ’विगतमा सरकारी सञ्चारमाध्यम भनेपछि सरकारमुखी हुने, जनतामुखी नभएको हो कि भन्ने बुझाइ थियो, हामीले पटकपटक भनेका छौँ सरकारी सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छ । सरकार र जनताकाबीच यी माध्यमले पुलका रुपमा काम गर्नुपर्छ भन्ने अवधारणा विधेयकमा समावेश गरिएको छ,’ उनले भनिन् ।
उनले विधेयकमाथिको संशोधनका क्रममा समसामयिक, प्रविधिमैत्री एवं थप समृद्ध बनाउन समितिबाट सुझाव आउने अपेक्षा गरिएको बताइन् । ’विशेषगरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने भन्ने हो, यो केवल गाभ्ने मात्रै हैन, त्यसलाई अझै उन्नतस्तरको ‘मिडिया’ बनाएर सरकारी मिडियाप्रतिको बुझाइ चिरेर जनउत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको छ,’ उनले भनिन् । मन्त्री शर्माले संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएकाले यही अधिवेशनमा उक्त विधेयक पेस गर्ने सरकारको तयारी रहेको जानकारी दिए ।
सार्वजनिक सेवा प्रसारणसम्बन्धी सेवालाई संशोधन र एकीकरण गर्न बनेको सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । राष्ट्रिय आमसञ्चार नीति, २०७३ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणको रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायीरुपमा सञ्चालन गरिने व्यवस्था छ ।
