IMG-LOGO

चीन त्यसै बनेको होइन !

 मंगल, माघ ९, २०८०  - केदार सिटौला

 

      सन् पचासको दशकमा चीनको अवस्था नेपाल भारतकै हाराहारी थियो । तर अहिले चीनले नेपाल भारतलाई निक्कै पछाडि छाडिसकेको छ । विकास र उन्नतिको पथमा चीनले हासिल गरेको चमत्कारिक प्रगतिका थुप्रै कारणहरु छन् । सिक्ने कुरामा चीनका शासकवर्गहरुमा संस्कारकै हदसम्म विकसित हुटहुटी र लालसा पनि त्यस्तै एक कारण हो । त्यस्तै एक प्रेरक घटना चीनका भूतपूर्व प्रधानमन्त्री झु रोङ्जीसँग पनि चर्चा हुने गर्छ । चीनका शासकवर्गहरुमध्ये झु रोङ्जी सुधारवादी विचारका पक्षधर मानिन्छन् । पश्चिमी जगतले उनलाई  ‘ चिनियाँ गोर्वाचोभ ’ भनेर फुक्र्याउने गर्थियो । तर उनले झु रोङ्जी नै बन्न रुचाए, गोर्वाचोभ बन्न चाहेनन् । एक पटक झु रोङ्जी अष्ट्रेलियाको भ्रमणमा गएका थिए । भ्रमणको क्रममा राजकीय भोज दिईएको थियो । त्यो भोजको बिचमा झु रोङ्जी बाथरुम गए । उनी निक्केबरसम्म बाथरुममै बसे ।

      चीनका प्रधानमन्त्री जस्ता शक्तिशाली व्यक्ति धेरै बेरसम्म बाहिर ननिस्केपछि हल्लीखल्ली नै मच्चियो । उनका अंगरक्षक र अस्ट्रेलिया सरकारका मन्त्रीहरु अनिष्टको आशंकाले चिन्तित बने । कतै उनलाई केही समस्या त परेन भनेर उनका अंगरक्षकहरुले बाथरुमको ढोका फोडे । भित्र त अनिष्ट हैन, अनौठो दृश्य चाहिँ देखियो । त्यो देखेर सबैजना तीनछक्क परे । प्रधानमन्त्री  झु रोङ्जी त कोटको बाहुला सुर्केका  कमोडको फ्लश पो जोडजाड गर्दै रहेछन् । आफ्नो कारण अरुले कष्ट पाएको र बाथरुमको ढोका नै फोड्नु परेको घटनाका कारण केही लज्जित हुँदै प्रधानमन्त्री  झु रोङ्जी भने, ‘ यो कमोडले फ्लस गर्दा एकदमै कम पानी प्रयोग गर्दो रहेछ । मलाई यो कमोडको फ्लस गर्ने प्रणाली सार्है मनर्पयो र यस्ले कसरी काम गर्दो रहेछ भनेर म हेर्न चाहन्थे । फ्लस लाई खोलेर फेरि जोडदा अलिक समय लाग्यो । अब हामिले पनि यस प्रकारको शौचालय चीनमा शुरू गर्नु पर्छ ।

      झु रोङ्जी पेसाले इन्जिनियर थिए ! त्यो पानी बचत गर्ने प्रविधिबारे जान्ने उत्सुकताले उनले त्यसो गरेका थिए । त्यसमाथि थप, पानी बचत गर्ने त्यो प्रविधिलाई चीनमा लैजानु पाए गज्जबे थियो भन्ने दायित्वबोध र देशप्रेमले पनि उनलाई प्रधानमन्त्रीको प्रोटोकलको फूर्तिफार्तीमा बस्न दिएको थिएन । यो एउटा प्रतिनिधिमूलक घटना हो । यस प्रसङ्गले पनि थाहा लाग्छ- चीन त्यसै बनेको होइन !

साभार ः- दायित्ववोधबाट

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्