कोशी प्रदेश सरकारले प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरु गरेको छ । त्यसकालागि प्रदेश स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा आइतबार प्रदेश अस्पतालसहित चार वटा निजी क्षेत्रका अस्पतालसँग सम्झौता गरेको छ । अब ती अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा प्रदान गर्नेछन् । स्वास्थ्य मन्त्रालयले विराटनगरको प्रदेश अस्पतालसहित विराट शिक्षण, नोवेल शिक्षण, हाम्रो र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झौता गरेको हो । सम्झौतापछि प्रदेशका बालबालिकालाई अस्पताल भर्ना गरेर अविभावकले ऋण खोज्नुपर्ने र उपचारमा छुट गराउन नेताहरुको घर धाउनुपर्ने बाध्यताको अन्त्य भएको मुख्यमन्त्री कार्कीले बताउनु भयो ।
निःशुल्क उपचारमा संलग्न अस्पतालका उपकरण बिग्रिएको अवस्थामा प्रदेश सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।दुई पक्षीय सम्झौता पत्रमा प्रदेश स्वास्थ्य सचिव डा. सुधा देवकोटा, चाइल्ड हेल्थ दमकका डा. भगवान कोइराला, नेवेल शिक्षणका निर्देशक डा. राजेश नेपाल लगायतले हस्ताक्षर गरेका छन् । कोशीमा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार बालबालिका मध्ये ३४ छ ।
