बनेपा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष नृपेश बादेले सेवाग्राहीसँग घुस लिँदा लिदै भक्तपुर जिल्लाबाट नियन्त्रणमा लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वन गरेको पत्र नगरपालिकालाई पठाएको छ । अख्तियारको पत्र अनुसार बनेपा नगरपालिकाको कार्यपालिका बैठकले २०८० माघ ७ गते आईतबारबाट सोहि वडाका महिला वडा सदस्य मनिषा तामाङलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिने निणर्य गरेको छ । प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले अख्तियारको पत्रको ब्यहोरा जानकारी गराउँदै कानूनतः दिनु पर्ने कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोक्ने निणर्य कार्यपालिका बैठकले गरेको बताउनु भयो । वडा अध्यक्ष बादेलाई २०८० माघ ३ गते बुधबार राति भक्तपुरबाट नेपाली रकम १५ लाख नगद, श्रोत नखुलेको जापानी एन १० हजार तथा एक थान रु. १०० को ग्क् डलर सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सोहि दिन विज्ञप्ती प्रकाशन गरी वडा अध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा भक्तपुर ठिमी नगरपालिका वडा नम्वर ३ गठ्ठाघरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
