म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले फेरी गोली चलाएको छ । सेनाको गोली लागेर कम्तीमा ३८ जना मारिएका छन्। नेतृ आङ साङ सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । जसलाई संयुक्त राष्ट्र संघले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ ।
म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताउनुभयो । बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरू माथि गोली चलाएको बताइएको छ । गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामुहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् ।
