बनेपा नगरपालिकाको १३औं अधिवेशन आइतबार सम्पन्न भएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको सभामा उप प्रमुख विमला सापकोटा दाहालले न्ययिक समिति, राजश्व परामर्श समिति, बजेट तथा योजना तर्जुमा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थागत विकास, शुसासन तथा सेवाप्रवाह समिति संयोजक शुभलक्ष्मी मानन्धरले सभाको आचारसंहिता प्रस्तुत गर्नुभएको उक्त सभामा संयोजक श्याम सून्दर श्रेष्ठले पूर्वाधार विकास समितिको, रमेश दाहालले आर्थिक विकास समितिको, राम बहादुर कुँवरले सामाजिक विकास समितिको, बलराम अधिकारीले विधायन समितिको, कमल प्रसाद घिमिरेले वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, शुभलक्ष्मी मानन्धरले संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिको, हिटलर शाक्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा वडाध्यक्षहरु , वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, कर्मचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्दै नगर प्रमुख शाक्यले बनेपा नगरपालिकामा स्वास्थ्य ,शिक्षा ,खानेपानी ,खेलकुद,भौतिक निर्माण लगाएतका क्षेत्रमा उल्लेखीय काम भएको दाबि गर्नुभयो । नगरमा अध्यनरत २० हजार बढी बालबालिकाहरुको निशुल्क आँखाको परिक्षणको कार्य सुरु भैसकेको र बृद्ध बृद्धाहरुका लागि निशुल्क दाँत राख्ने काम समेत अगाडी बढी रहेको प्रमुख शाक्यले उल्लेख गर्नुभयो । एक घर एक धारा हुनु पर्ने कुरालाई जोड दिदै काम भैरहेको ,प्रत्येक वडामा खेल मैदान निर्माणलाइ प्राथमिकता ,मल्टी च्याम्बर कोल्ड स्टोरको निर्माण लगायतका काम बनेपा नगरपालिकाले निकट भबिस्यमा गर्ने प्रमुख शाक्यको योजना रहेको छ। बनेपा नगरपालिकाको धेरै भूभाग र धेरै ब्यक्ति कृषी पेशामा रहेकाले कृषी उत्पादनलाई वृद्धि गर्न बनेपा ८ मा मल्टी च्याम्बर कोल्ड स्टोरको निर्माण कार्यको योजना अघि बढी सकेको बताउनुभयो । टेबुल टेनिस खेलमा बनेपालाइ अगाडी बढाउने उदेश्य सहित टेबुल टेनिस खेलको ट्रेनिंग हल सहित बिशेष कार्यक्रम गर्न लागिएको पनि जानकारी दिनुभयो ।
