आज बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालै पुष १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय (निर्णय नं–२) लाई ईमान्दारितापूर्वक कार्यान्वयन गर्न हार्दिक अनुरोधः
निर्णय नं–२ः
“नेपाली कांग्रेसले उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरु मध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टी प्रति प्रतिवध्द स्वच्छ छवि भएका हालसम्म कुनैपनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने ।”
यसको मतलवः
नेपाली कांग्रेसले उम्मेदवार निर्धारण गर्दा (१) प्रदेश कार्यसमितिले सिफारिस भई आएका नामहरु बाहेकका कोही पर्ने छैनन् (२) एकल जातीय मात्र पर्ने छैनन (३) पार्टीमा योगदान नगरेका कोही पर्ने छैनन् (४) संसदीय क्षेत्रमा योगदान पुर्याउन नसक्ने कोही पर्ने छैनन् (५) पार्टी प्रति अप्रतिवध्द आउने छैनन् (६) स्वच्छ छवि नभएकाले मौका पाउने छैनन् (७) यसअघि कुनैपनि अवसर पाइसकेकाले फेरी मौका पाउने छैनन् (८) विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य ब्यक्ति छुट्ने छैनन् । (९) जनता बीच लोकप्रिय भएका ब्यक्ति प्राथमिकताबाट बाहिर हुने छैनन् ।
यी बुँदाहरु केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्नुहुने अधिकांस पदाधिकारी एवं सदस्यहरुको (लगभग सबैको) धारणा हो।प्रत्येक बुँदा मापदण्डका समग्र आत्मा हुन् । केस्रामा होइन, समग्रतामा मेल खाने पात्रहरुको चयनले मात्र पार्टीमा नयाँ ऊर्जा र जनतामा नविन भरोसा निर्माण हुन्छ । पार्टी भित्र ९ वटै मापदण्ड पुगेका प्रसस्त साथीहरु हुनुहुन्छ। निर्णयको मर्म पनि उनीहरु प्रतिको न्याय नै हो ।
पार्टीको उम्मेदवारी चयन केन्द्रीय कार्यसमितिले तय गरेका उपरोक्त ९ वटा प्रत्येक आधारमा खरो उत्रने ढंगले आओस । जनताको नजरमा पार्टी प्रति बढ्दो अविश्वास र कार्यकर्ता पंक्तिमा छाएको निराशालाई चिर्न अब ढिला गर्नुहुँदैन । आफैंले तय गरेका मापदण्डलाई आंशिक वा टुक्रा–टुक्रामा अपब्याख्या गर्ने काइते कर्म कदापि हुनुहुँदैन ।
केन्द्रीय कार्यसमितिको भावना र निर्णयको जगमा अक्षरशः उभिएर केन्द्रीय कार्यसम्पादन समिति अघि बढोस । केन्द्रीय समितिको निर्णयको अवज्ञा नगरोस । केन्द्रीय कार्यसमितिका कुनैपनि पदाधिकारी र सदस्यले आफ्नो ब्यक्तिगत स्वार्थले यी मापदण्ड पारित गरेका होइनन भन्ने कुरा बैठकमा आफैं सहभागी भएका केन्द्रीय कार्यसम्पादन समितिका श्रध्देय नेतागणले नबुझेको तथ्य भएन । पुनश्चः केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पुष १५ को निर्णयको पूर्ण सम्मान गर्न (कुनैपनि दृष्टिले अपमान नगर्न) केन्द्रीय कार्यसम्पादन समितिलाई विनम्र अनुरोध छ ।
जय नेपाल !!
