बनेपा नगरपालिका वडा नम्बर–८, स्थित सिनागालबाट ७ सात किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार बिहान ८ बजे वीरगन्जबाट बनेपा आएको रात्रि बसमा बिहारको चम्पारण ग्राम पञ्चायत नागटोल–६ घर भएका २९ वर्षीय अश्विनी सर्राफलाई सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वार्टर काभ्रेबाट सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाँको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो । गण हेडक्वार्टर काभ्रेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईका अनुसार, सर्राफको साथबाट चाँदीजस्तो देखिने सिक्का, मंगलसूत्र, गिलास, मालाको दाना, चुरा, पाउजु, ब्रास्लेट, विभिन्न साइजको सिक्री बरामद गरिएको छ । सर्राफलाई नियन्त्रणमा लिई बरामद भएको वस्तुलाई आवश्यक प्रक्रिया पु¥याई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइएकोे सशस्त्र प्रहरी बलले जनाएको छ ।
