बनेपा विद्यार्थीहरुको शैक्षिक स्तरवृद्धि र श्रीजनात्मक शिक्षण सिकाइमा आफूलाई दरविलो रुपमा उभ्याएको बेलर इन्टरनेश्नल ऐकेडेमीले कक्षा ११ अध्ययन गर्न आउने विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बुधबार विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्व तथा बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल इन्दु थापाले स्वागत मन्तव्य सहित विद्यालयको शैक्षिक उपलब्धीको बारेमा प्रष्ट पार्नुभयो । प्रमुख अतिथि शान्तिरत्न शाक्यले बनेपामा सञ्चालित ७० वटा विद्यालय मध्ये बेलर स्कुल शैक्षिक विकासको सवालमा अग्रगतिमै रहेको बताउनुभयो । कार्यक्रमको सवालमा थप प्रष्ट पार्दै विद्यार्थीहरुले कक्षा १२ पास गर्ने बित्तिकै विदेश जानु पर्छ भन्ने मानसिकता देखिन्छ । यो ठिक होइन देशमै कार्य गर्न सक्ने र जुनसुकै काम गर्न लजाउनु नहुने कुरा प्रमुख अतिथि शाक्यले बताउनुभयो । विदेश जानै परेपनि सिप र दक्षता हाँसिल सँगै जुन देश जान लागेको छ उक्त देशको भाषा सिकेर मात्र जान सुझाव प्रमुख अतिथि शाक्यले दिनुभयो । नेपाल पत्रकार महासंघ काभे्रका पूर्व अध्यक्षहरु इश्वरी ओझा, महेश पौडेल, मोतिरामा तिमल्सिना, रोटरी क्लव अफ पनौतीका अध्यक्ष मधुसुधन गुरागाइ लगायतले शुभकामना मन्तव्य दिनुभयो । स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीहरु विभिन्न विधाका भेषभुषा र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष भोला थापाले शैक्षिक गुणस्तर विकास, विद्यार्थीहरुको सृजनात्मक शिक्षण सिकाइलाई थप प्रभाकारी बनाएर अघि बढेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक पवन थापा, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी काभे्रका प्रमुख जनार्दन घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
