गैर सरकारी संस्था महासंघ काभ्रे शाखाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार धुलिखेलमा एक समारोहका बीच गैससको बार्षिक साधारण सभा सम्पन्न भएको हो । गैसस काभ्रेका अध्यक्ष गंगा दोङको अध्यक्षता, गैसस महासंघका केन्द्रीय महासचिव अर्जुन भट्टाराईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सचिब सुमन खड्काले प्रगती प्रतिवेदन र कोषाध्यक्ष रमेश गौतमले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । दुबै प्रतिवेदन सभाले पारित गरेको छ । आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष गौतमले पारदर्शी नै हरेक संघ संस्थामा सुशासनको पहिलो आधार भएको बताउनुभयो । आर्थिक रुपमा पारदर्शि हुँदा जवाफदेहि हुनु पर्ने बताउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य टोम प्रसाद सापकोटा, संस्थापक अध्यक्ष शंखबुद्ध लामा, पूर्व अध्यक्ष जीतराम लामा, सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेश प्रसाद न्यौपाने नागरिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, गैसस काभ्रेमा आबद्ध संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो । गैसस काभ्रे जिल्ला पछिल्लो समय स्थानीय सरकारसँग मिलेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
स्थानीय सरकारको गैसस मैत्री नीति निर्माणमा पहल गर्ने, गैसस महासंघ काभ्रेमा आबद्ध संस्थाहरुको अतिरिक्त सुशासन, पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व, समावेशिता तथा संस्था सुदृढिकरणका लागि अभिमुखि तालिम सञ्चालन गर्ने, नियमित कार्यालय सञ्चालन गरि दक्ष, कर्मचारीद्वारा प्रविधिमैत्री सेवा प्रदान गर्न दिगो श्रोतको ब्यवस्थापनका लागि प्रयास गर्ने, आवद्ध संस्थाहरुको गतिविधिको अनुगमन गर्नेका काम आर्थिक वर्ष २०८०÷०८१ मा पर्ने गैसस काभ्रेले जनाएको छ । सभामा डि.आर.आरका विषयमा आर्सो नेपालको प्रस्तुति रहेको थियो भने प्रभु बैंकले बैंकिङ्ग कारोबारका विषयमा छलफल तथा अन्तरक्रिया गरेको थियो । सभामा आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर नागरिकको भलाइको लागि कार्य गर्ने जनाएको छ ।
