पनौती, विजया दशमी, शुभदिपावली, नेपाल संम्वत ११४४ र छठ पर्व २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा छात्रवृत्ति कोष हस्तान्तरण कार्यक्रम इन्दे्रश्वर क्याम्पसको सभाहलमा शुक्रबार सम्पन्न भयो । इन्दे्रश्वर क्याम्पसका उपाध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा तथा काभे्र प्रतिनिधि सभा क्षेत्र नं १ सदस्य लालध्वज तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा बागमती प्रदेश सभा सदस्य एवं काठमाडौं महानगरपालिका पूर्व उप—प्रमुख हरिप्रभा खड्की, नेपाली कांगे्रस केन्द्रिय सदस्य मधु आचार्य र गणेश लामा अतिथि हुनुहुन्थ्यो । संविधान सभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, पार्वती क्याम्पस व्यवस्थापन समिति अध्यक्ष बिनोद तिमल्सिना, काभे्र पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैंजु, क्याम्पस कोषाध्यक्ष भिमसेन बस्नेत लगायतको आतिथ्यत रहेको थियो । इन्दे्रश्वर क्याम्पसका प्रमुख श्रीकुमार सुवालले क्याम्पसको शैक्षिक प्रगतिको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य मधु आचार्यले देशको कुल बजेटको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । थप प्रष्ट पार्दै संसदमा पेश भएको नयाँ शिक्षा विद्ययेकले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याई देशको सर्वाङ्गीण विकास गरी देशको आर्थिक सामाजिक रुपान्तरण हुने गरी अघि बढ्न सबै सांसद एक ठाउँमा उभिनुपर्ने धारणा नेपाली कांगे्रस केन्द्रिय सदस्य आचार्यले राख्नुभयो । समारोहमा क्याम्पसका उपाध्यक्ष राजेश श्रेष्ठले उहाँको बुबाको नाममा २ लाख २ हजार १ सय ११ र विजय कर्माचार्यले सहयोग गरेको १ लाख ५० हजार छात्रवृत्ति कोषमा रकम हस्तान्तरण गरेको थियो । कार्यक्रमको सञ्चालन जयराम कर्माचार्यले गर्नुभएको थियो ।
