जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले विहिबार आयुर्वेद सेवाको प्रबद्र्धन गर्ने उद्देश्यले पत्रकारसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेकी प्रमुख डा.वशवंवदाम्भा कौण्डिन्न्यायनीले जिल्लाका १३ पालिका मध्ये ४ वटा पालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र र चारवटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रोग लाग्नै नदिन तथा रोग लागि हालेमा आयुर्वेदको सही प्रयोग गर्न सहज वातावरण बनाउन आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गरेको सेवालाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । एक वर्षको अवधीमा जिल्लाका विभिन्न स्थानबाट आयुर्वेद सेवा लिने नागरिकहरूको सङ्ख्ख्या ३१ हजार ७ सय ४२ रहेको छ भने निःशुल्क औषधी तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सशुल्क औषधी आवश्यक हुने बिरामीहरूका लागि ५ प्रतिशत छुटमा औषधी विक्री गर्न सुरु गरिएको बताइएको छ । कार्यक्रममा कविराज प्रताप लामाले चालु वर्षमा सञ्चालन हुने कार्यक्रमहरूका बारेमा जानकारी गराउँदै चालु वर्षमा पनि अघिल्लो वर्षका जस्तै कार्यक्रमहरु विभिन्न क्षेत्रमा सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन रमाकुमारी झाले गर्नुभएको थियो ।
