प्रस्तावित नेपाल सहकारी बैँकको तदर्थ सञ्चालक समितिले सहकारी विभागमा फाइल पेस गरेको छ । प्रस्तावित बैँकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूणर् कागजातसहित प्रक्रिया पुरा गरी बैँक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिष्ट्रार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिए । बैँक दर्ताको लागि ५ सय १ फाइल आवश्यकतापर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेस गरिएको थियो । दर्ताका लागि १ सय ७५ फाइल तयार भएका थिए । बैँक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब पुँजी तयार भएको प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।
माघ १७ गते राजधानीमा समपन्न भएका प्रारम्भिक भेलाले सम्पूणर् प्रक्रिया पूरा गरी दर्ता प्रक्रिया अघि बढाएको थियो । भेला लगत्तै ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ । प्रारम्भिक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्थाका एक हजारभन्दा बढी सदस्य संस्थाको फाइल विभागमा बुझाइएको छ । प्रस्तावित बैँकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहिबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रपासाद जयसवाल र विनोदकुमार दत्त, भक्तपुरबाट दिनेश चुके,गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट नवराज पौडेल, स्याङ्जाबाट केशवप्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गीता सिग्देल दाहाल सदस्यमा चयन हुनुभएको छ । काठमाण्डौँबाट शम्भुप्रसाद घिमिरे, राममानसिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलीप पौडेल सदस्य रहनुभएको छ । यसैगरी ललितपुर जिल्लाबाट माघव दुलाल, शरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गर्नुभएको छ । भेलाले काठमाण्डौँका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरिसकेको छ ।
