पनौती ÷ असोज २० गते एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.पनौती ७ को १५ औ.वार्षिक साधारणसभा शनिवार संस्थाका अध्यक्ष काजी बहादुर खत्रीको सभापतित्वमा तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको प्रमुख आतिथ्यतामा ताम्राकार पार्टी भेन्यु सम्पन्न भएकोछ । प्रमुख अतिथि डा. शिवजी सापकोटाले संसारका सबै बचत तथा ऋण सहकारी संस्थाहरुले यस्तै प्रकारले प्रगति प्रतिवेदनहरु शेयरसदस्य माझ प्रस्तुत गरि साधारणसभा सम्पन्न गर्दै आएको जानकारी दिनु भयो । एकीकृत साकोस पल्स मापदण्ड अनुसार राष्ट्रियस्तरको सहकारी सुचीको योग्यता नजिकै पुगेको, सहकारीका सिद्धान्त अनुरुप चल्न सके दीगो रुपमा सहकारी संचालन हुने, अहिले सहकारीमा देखिएको बेथितिले गर्दा सहकारीहरुले बदनामी कमाएकोले बेलैमा सहकारीहरुले सचेत हुनुपर्ने र सहकारीका संचालन तथा पदाधिकारीहरुले ऋण नलिए सहकारी सुरक्षित हुन सक्ने तर्क गर्नु भयो ।
सभामा साकोसका संस्थापक अध्यक्ष तथा सल्लाहाकार रहनुभएका नेपाल राष्ट्र बैकका उप निर्देशक लक्ष्मीनारायण ताम्राकारले वर्तमान वित्तिय क्षेत्रमा देखिएको नकरात्मक समयमा शेयरसदस्यहरुको बचतलाई सरक्षित गर्नु संचालक समितिको महत्वपूर्ण भूमिका रहने र समयसापेक्ष संस्था गाभ्ने र गाभिने सम्बन्धमा संचालकले सहि निर्णग गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघको लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठ, चेष्टा साप्ताहितका कार्यकारी सम्पादक मोतिराम तिमल्सिना, उद्यम विकास साकोसका अध्यक्ष रोशनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साकोसका संचालक सदस्य ज्ञानदास श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने लक्ष्मण मातंछेले शेयर सदस्यहरुमा स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।
साकोसको आ.व २०७९÷८० भित्र आर्थिक अनुसाशनमा कारोबार गर्ने शेयरसदस्यहरु मध्ये उत्कृष्ट नियमित बचतकर्ता बासुदेवी सापकोटा, उत्कृष्ट दैनिक बचतकर्ता काशिनाथ आचार्य, उत्कृष्ट साधारण बचतकर्ता संतोष सापकोटा, असल ऋणी गोबर्धन खत्री, उत्कृष्ट विद्यार्थी बचतकर्ता अनुष्का खड्गी, उत्कृष्ट कर्मचारी सुजित श्रेष्ठ लाई प्रमाण पत्र, उत्कृष्टको ट्रफि र पुरस्कार प्रदान गरियो साथै ज्येष्ठ शेयरसदस्यहरु रामदास सैंजू, दानबहादुर थापा, रत्नलाल जाकिवन्जार, लक्ष्मीनारायण कर्माचार्य, छलमाया नापित, कृष्णमाया अमात्य, तोरणकुमारी लाई सम्मान–पत्र, दोसल्ला, र २०७९ को एस.ई.ई उत्तीर्ण शेयरसदस्यका सन्ततीहरु निलिमा सैंजू, दृष्टि मातंछे, अप्रिल श्रेष्ठलाई कदर पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण प्रजापतिले आ.व. २०७९÷८० का लेखा सुपरिवेक्षणको प्रतिवेदन र सुझावहरु प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष बसुन्धरा आचार्यले कोषाध्यक्षको प्रतिवेदन र आगामी वर्षको बार्षिक कार्ययोजना र बजेट प्रस्तुत गर्नुभएको थियो । सचिव भरत राउलले सचिवको प्रतिवेदन र भावी लक्षित कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रतिवेदन अनुसार संस्थामा आवद्ध शेयर सदस्य २९५५ जना रहेको, शेयरपूँजी रकम २ करोड ३५ लाख ७६ हजार, संस्थागत पूँजी १ करोड १३ लाख, सदस्यहरुको बचत संकलन १८ करोड ०८ लाख र लगानी १६ करोड रहेको जनाएको छ । धैर्यपूर्वक सभामा उपस्थित रहेका शेयरसदस्यहरुको लागि संचालक सदस्य रविनभक्त स्याउला र ऋण उपसमितिका सदस्य मदनसुन्दर गोच्छेले कार्यक्रमको बीच बीचमा चिठ्ठा खोल्ने कार्यक्रम गरेको थियो भने संचालक सदस्य लक्ष्मण मातेछे र सुरेन्द्र श्रेष्ठको लसुनजोडिले गित नृत्य सहकारी सम्बन्धी गित प्रस्तुत गरेर उपस्थित शेयरसदस्यहरुलाई मनोरनजन प्रदान गर्नु भयो ।
