IMG-LOGO

विश्व शान्ति दिवसको अवसरमा पदयात्रा सम्पन्न

 मंगल, असोज ९, २०८०  – हरिनाथ न्यौपाने

      विश्व शान्ती दिवसको अवसर पारेर काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति काभे्रको संयूक्त आयोजना एवं  नमोबुद्ध नगरपालिका लगायतका संस्थाको सह–आयोजनामा भएको सांस्कृतिक शान्ति पदयात्रा शनिबार सम्पन्न भएको छ । पनौतीको लायकु दरबार डबलीमा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले शुभारम्भ गरेको पदयात्रा नमोबुद्ध परिसरमा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले  समापन गर्नुभयो । उद्घाटन सत्रका प्रमुख अतिथि रेग्मीले पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको बताउदै शान्ति पदयात्राले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा समेत ठूलो महत्व राखेको उल्लेख गर्नुभयो । प्रतिनिधि सभा सांसद सूर्यमान दोङले शान्ति पदयात्राबाट विश्वले नै पनौती र नमोबुद्धको साँस्कृतिक महत्व बुझ्ने अवसर पाएको बताउनुभयो । अर्का प्रतिनिधि सभा सांसद गोकुलप्रसाद बाँस्कोटाले शान्ति पदयात्राले विश्वमा शान्ति फैलाउन कोशेढुङ्गा सावित हुने धारणा राख्नुभयो । बागमती प्रदेश मन्त्री तिर्थबहादुर लामा, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभे्र प्रमुख दिपक कुमार गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, काभे्र सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, राजनितिक दलका नेताहरु, समाजसेवी लगायत विद्यार्थी, साइकलयात्रीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ शान्तिको सन्देश दिँदै शान्ति पदयात्रा सुरु गरिएको उक्त यात्रा पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दूरीमा १ हजारभन्दा धेरैले पैदलयात्रा गरेका थिए । सुन्थान, इटे, दाहालटार, फेदी हुदैँ नमोबुद्धमा गएर यात्रा टुंगिएको थियो । पदयात्रीहरुलाई नमोबुद्ध र धुखिलेल नगरपालिकाको सिमाना फेदी र नमोबुद्ध चैत्य परिसरमा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सबै वडाका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी र स्थानीयले भव्य स्वागत गरेका थिए । पञ्चेबाजा, धिमेबाजा, लाखे नाँचसहित पर्यटकहरुलाई स्वागत गरिएको थियो । नमोबुद्द १ स्थित ठाङ्गु टासि याङ्चे गुम्बामा आयोजित समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, उपप्रमुख रिमबहादुर तामाङ, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो । समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश मन्त्री तिर्थबहादुर लामाले नमोबुद्ध क्षेत्रको सर्वाङ्गिण विकासको लागि नमोबुद्ध नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लाको विकासको लागि काभ्रेली सक्षम भएको सन्देश पदयात्राले दिएको बताउनुभयो भने नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध आइपुग्ने सबै पर्यटकलाई आभार प्रकट गर्दै संघ, प्रदेश र अन्य निकायको सहयोगमा नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गरिने उल्लेख गर्नुभयो । काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले नमोबुद्धको पर्यटकीय विकासको लागि पदयात्रा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । ठाङ्गु टासि याङ्चे गुम्बाका उपाध्यक्ष आचार्य लामा कर्मा फुर्वु शेर्पा, नमोबुद्ध भगवान घ्या गुठीका लामा गुरु सानुकान्छा लामा लगायतले नमोबुद्ध परिसरको ऐतिहासिकता र महत्वबारे चर्चा गर्नुभएको थियो । विश्व सम्पदा सूचीमा सुचिकरणको प्रकृया नगरपालिकाले अघि बढाइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत निर्माण गरिएको बताइएको छ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकरण गर्ने प्रस्ताव समेत गरिएको छ । पदयात्रासँगै साइकलयात्रा मार्फत पर्यटन प्रवर्द्धनका लागि सहभागिता जनाएको विश्व सांस्कृतिक शान्ति पदयात्रामा काभ्रेपलाञ्चोक लगायत विभिन्न जिल्लाका नागरिकहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्