केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै रुपान्तरण अभियानका अभियन्ता तथा केन्द्रीय सदस्य मधु आचार्यले महासमितिको बैठक काठमाण्डौमा गर्नुको सट्टा प्रदेश कार्यसमितिसँग परामर्श गरी मधेश प्रदेश भित्रको कुनै स्थानमा गर्न प्रस्ताव गरे । उनले महासमितिको बैठकमा पर्यवेक्षकको समेत ब्यवस्था गर्न आग्रह गरे । प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सिफारिसमा प्रत्येक संघीय क्षेत्रबाट १ जना १८–३० उमेर समूह र अर्को बुद्धिजिवी क्षेत्रबाट पर्यवेक्षकका रुपमा प्रतिनिधित्व गराउँदा सकारात्मक सन्देश जाने उनको तर्क थियो । दुई महिना अघि श्रावण २–१० सम्म बसेको केन्द्रीय समितिको बैठकले निर्णय गरेको “समुदायसँग कांग्रेस कार्यक्रम” स्थगित भएकोमा गम्भिर आपत्ति जनाए तथा अविलम्ब अर्को मिति तय गर्न नेतृत्वको ध्यानाकर्षण गरे ।
पार्टीको १५ औं महाधिवेशन नभएसम्म पार्टीको मूल नारा भनेको १४ औं महाधिवेशनले तय गरेको “एकता, उत्साह र रुपान्तरण” नै हो । पार्टी भित्र बलियो एकता भर्न र मनग्गे उत्साह जगाउन कांग्रेसका भूँई सदस्य कहाँ जाऔं, उनीहरुको आवाज सुनौं र उनीहरुको परामर्श अनुरुप चौतर्फी रुपान्तरण गरौं– उनको जिकीर थियो । यसका लागि महासमिति बैठक लगत्तै मेची–महाकाली रिले पदयात्रा शुरु गर्न प्रस्ताव गरे । कोशी प्रदेश सरकार निर्माणमा बैकल्पिक समाधानको बाटोको खोजी गर्न जरुरी भएको बताए ।
मुलुक भित्र देखिएको देशी विदेशी षडयन्त्र प्रति सचेत रहँदै सामाजिक सदभाव र एकता कÞायम गर्न मुलुकवासी सम्पूर्णमा हार्दिक अपील गर्नुपर्ने, वार्ताको माध्यमबाट शिक्षक आन्दोलनको समाधान खोज्न र पठनपाठनलाई अविलम्ब सुचारू गराउनेतर्फ तत्काल कदम चाल्ने, चाडवाड नजिकै आईरहेकोले सर्वसाधारण जनतालाई महंगी र कालोबजारीबाट जोगाउन बेलैमा आवश्यक कदम चाल्न सरकारलाई दवाव बढाउन आवश्यक रहेको बताए ।
ने. वि. संघ, तरुण दल लगायतका भातृ शुभेच्छुक संघसंस्थाले आफैं अधिवेशन गर्ने संभावना देखिएको छैन । ६ महिना भित्रको मिति पार्टीले नै तोकौं । सदस्यता वितरण गर्न वर्तमान समितिलाई देशैभरी खटाऔं र सीडेन (सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स) मा जस्तै गरी सबै सदस्यले मतदान गरेर नेतृत्व चयन गरौं । कलेज र जिल्ला÷क्षेत्रबाट प्रतिनिधि छनौटको अप्रत्यक्ष तर विवादित बाटोमा गएर संगठनलाई थप कमजोर नबनाऔं– उनको प्रस्ताव थियो ।
संघीय प्रणालीको मजवुतिका लागि नेपाली कांग्रेसका प्रदेश कार्यसमितिलाई सशक्त र अधिकार सम्पन्न बनाउने र हरेक बर्षको सहीद सप्ताहलाई कांग्रेसले तमाम सहीदलाई साक्षी राखी “पार्टी घोषणापत्र कार्यान्वयन समीक्षा सप्ताह” का रुपमा मनाउन आग्रह गरे ।
