काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ । तीन बर्षदेखि वितरण गर्दै आएकोमा शुक्रबार २० वटा विद्यालयलाई कम्प्युटर सेट वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्प्युटर वितरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समयानुकुल कार्यक्रमहरू गर्दै जानुपर्ने बताए । आजको जमानामा कम्प्युटरको सिप नभएमा काम नलाग्ने लामाको भनाई छ । कम्प्युटर ल्यावबाहेक गाउँपालिकाको आन्तरिक कार्यक्रमका रुपमा एक विद्यालय एक कम्प्युटर सेट वितरण गरेको उनको भनाई छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले अहिलेको जमानाको विद्यार्थीहरू कम्प्युटरमा रमाउने जमाना भएको बताएका छन् । विद्यार्थीहरू आधुनिक प्रविधिमा रमाउदै सिक्न चाहने भएकाले सोही अनुसारको शिक्षा विकासका लागि कम्प्युटर वितरण गरेको वाईबाले बताए । कम्प्युटर वितरण गर्नु अगाडी गाउँपालिकाले सबै विद्यालयका एक÷एक जना शिक्षकलाई कम्प्युटर तालिम प्रदान गरेको थियो । रोशी गाउँपालिका भित्र ६९ विद्यालय सञ्चालित छ । सो मध्ये २० वटा विद्यालयमा कम्प्युटर वितरण गर्न बाँकी रहेकोमा शुक्रबार वितरण गरिएको हो । रोशी गाउँपालिका भित्र सञ्चालित सबै माध्यामिक विद्यालयहरूमा इन्टरनेट पु¥याइसकेको गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिए ।
