काभ्रे जिल्लाको रोशी गाउँपालिकामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य रिता कोईरालाको अध्यक्षतामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । मौलिक संस्कृतिलाई जोगाऔं, भड्किलो विकृतिलाई रोकौं भन्ने मूल नाराका साथमा रोशी गाउँपालिका महिला विकास तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले विविधतापूर्ण समाजको विभिन्न जातजातिको संस्कार संस्कृति गाउँपालिकाले संरक्षण गर्नु पर्ने बताए । पछिल्लो समय तिज भड्कीलो भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबीर लामा लगायत गाउँपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी र स्थानीय महिलाहरूको उपस्थिति रहेको थियो ।
