IMG-LOGO

मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना

 मंगल, भदौ १९, २०८०  ---

          काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ८० जना नयाँ उद्यमी सिर्जना गरेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चलिरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत आर्थिक वर्ष २०७९÷८० मा यी उद्यमी सिर्जना गरिएको हो । नगरपालिकाका रोजगार संयोजक एवं लघु उद्यम विकास कार्यक्रमका फोकल पर्सन सुरज पौडेलका अनुसार विभिन्न सीपमुलक तालिम प्रदान गरेर ८० जना नयाँ उद्यमी सिर्जना गरिएको छ । यो कार्यक्रम अन्तर्गत सिलाई कटाई, गलैँचा बुनाई, ब्युटीसियन र मोटरसाइकल वर्कशपको एक÷एक महिना तालिम प्रदान गरिएको छ । त्यसैगरी बाख्रापालन र तरकारी खेती सम्बन्धी ५÷५ दिनको तालिम सञ्चालन गरिएको थियो । ४० जनाका लागि एडभान्स सिलाई कटाई तालिम समेत प्रदान गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो । यो कार्यक्रम नगरपालिकाको वडा नम्बर ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो । यसरी नयाँ सिर्जना भएका उद्यमीलाई नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख विष्णुमणि नेपालले प्रमाण पत्र र प्रविधि हस्तान्तरण गर्नुभएको छ । गत बुधबार एकैदिन तालिम सञ्चालन गरिएका सम्बन्धित क्षेत्रमै पुगेर प्रमाण पत्र र प्रविधि हस्तान्तरण गरिएको हो । वडा नम्बर ४ को बयरबोटमा प्रमाणपत्र तथा प्रविधि हस्तान्तरण गर्दै नगरप्रमुख वाईबाले सीप मुलक तालिम नगरबासीकै करबाट संकलित रकमले सञ्चालन गरिएको भन्दै ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । नगरप्रमुख वाईबाले एक महिनाको सिलाई तालिम पुरा गरेका ब्यक्तिका लागि थप २ महिनाको एडभान्स तालिम सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । वडा नम्बर ५ का सिलाई कटाई तालिममा सहभागीलाई प्रमाणपत्र र प्रविधि हस्तान्तरण गर्दै उपप्रमुख विष्णुमणि नेपालले आफ्नै नगरपालिकाभित्र केही उद्यम गर्न चाहानेलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । यस्ता तालिम मार्फत नगरपालिकाले समाजमा पछि परेका वर्ग र समुदायलाई समेत उच्च प्राथमिकताका साथ समेट्दै आएको भन्दै उहाँले सीपले आत्मनिर्भर बनाउने बताउनुभयो । सिलाई कटाई तालिममा सहभागि दुई जनाका लागि एउटाको दरले १८ थान मेसिन प्रदान गरिएको छ । ४ थान गलैचा बुन्ने मेसिन र एक सय लिटर क्षमताको १८ वटा पानी ट्यांकी वितरण गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो । सिलाई कटाई, गलैँचा बुनाई र ब्युटीसियन तालिममा महिला मात्र सहभागि थिए । यो तालिममा नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्