IMG-LOGO

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण

 मंगल, भदौ १९, २०८०  ---

 

          काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीता रहेको थियो । शनिबार पर्यटकीय स्थल तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।

           तिनधारे झरना अवलोकन पश्चात आयोजित कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री लामाले तिनधारे झरना संरक्षण संवर्धनका लागि बागमती प्रदेश प्रतिबद्ध रहेको बताएका छन् । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने उनको भनाई छ । ‘मैले फोटोमा मात्र देखेको यो तिनधारे झरनामा आईपुग्दा साच्चै मनमोहक स्वर्गीय आनन्द दिने रहेछ ।’ बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री लामाले भने, ‘यो क्षेत्रको बिकासका लागि बागमती प्रदेश प्रतिबद्ध छ । यसको विकासका लागि बागमती प्रदेशले के कती सकिन्छ साथ र सहयोग गर्न तयार छौँ ।’ झरनाको प्रवद्र्धनगर्न सके यस भेगको स्थानीयले आर्थिक उपार्जन गर्न सक्ने र आर्थिक समृद्धि हुने उनको तर्क छ ।

          होमस्टे सञ्चालन गर्न सके आर्थिक उपार्जन गर्न सकिने अर्थमन्त्री लामाले बताए । त्यसको लागि स्थानीयहरू लाग्नुपर्ने उनको भनाई छ । त्यसरी नै झरनासम्म जाने सिडीहरू आवश्यक भएको देखेको र स्थानीयहरूको माग पनि भएकोले सकेसम्म यसपाली नै नभए अर्काे बर्षसम्ममा निर्माण गर्न प्रतिवद्ध भएको लामाले बताए ।

          खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले पर्यटकीय स्थल तिनधारे झरनाको विकासको लागि सदैव लाग्ने बताए । देशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजानुपर्ने उनको भनाई छ । दाप्चा–फलामेसँघु–काफलडाँडा तिनधारे झरनासम्म सडक स्तरोन्नती हुने उनले बताए । ‘तिनधारे झरनासम्म आई पुग्न दाप्चा–फलामेसाँघु–काफलडाँडा सडक स्तरोन्नती हुन्छ । पहिलो फेजमा दाप्चा–फलामेसाँघु सडक स्तरोन्नती हुन्छ र त्यसपछि फलामेसाँघु–काफलडाँडा देस्रो फेजमा स्तरोन्नती तथा पिज हुने छ ।’ मन्त्री लामाले भने, ‘त्यसका लागि म बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री लगायत मन्त्रीहरूलाई पहल गर्नेछु ।

          मन्त्री लामाले काभ्रेमा नेपालकै सबैभन्दा लामो जिपलाईन बन्ने सम्भावना रहेको बताए । नमोबुद्ध नगरपालिकाको दप्चादेखि काफलडाँडा अर्थात तिनधारे झरनासम्म जिपलाईन सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।

          सो कार्यक्रममा उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्नो मन्त्रालयले सक्ने र मिल्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । तिनधारे झरना क्षेत्र विकासका लागि सम्भव हुने जुनसुकै सहयोग गर्न तत्पर रहेको पनि उनले बताए ।

          उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तिनधारे झरनाको प्रवद्र्धनगरेर आर्थिक उपार्जनमा लाग्नु पर्ने बताए । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कन्साङ लामाले चार जना प्रदेश मन्त्री पर्यटकीय स्थलमा उभिएपछि विकासको मूल फुट्नेमा विश्वास लिएको बताए ।

          रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको पालिका भएको बताए । रोशीमा चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाईने १२ बर्षमा फूल्ने निलम्बरी फूल पाईने स्थान पनि भएको जानकारी दिए । त्यस्तै भूमेचुली डाँडा, तिनधारे झरना, हात्तीआहाल, ताराखसे लेक तथा पोखरी लगायत रोशी गाउँपालिका भित्र पर्यटकीय स्थल रहेको लामाले बताए । ति स्थलहरूको विकास र प्रर्वधनका लागि गाउँपालिकाले मात्र सम्भव नहुने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पनि रोशीको बिसमा सहयोग गर्नुपर्नेमै जोड दिए ।

          रोशीकासमाजसेवी सार्कीमान वल र वडाध्यक्ष हस्तमान लामाले तिनधारे झरनाको विकासका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले बागमती प्रदेशले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहको सिमित स्रोत साधान रहने तर जनताको अपेक्षा धेरै हुने भएकाले बिकासमा प्रदेश सरकार र संघ सरकारले सहयोग गर्नुपर्ने उनीहरूको जोड थियो ।

          मिक्साङ वाईबाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यको क्रममा लामाले मन्त्रीहरू स्वयम आएपछि तिनधारेदेखि ताराखसे लेकसम्म पदमार्ग निर्माण हुने, दाप्चादेखि तिनधारेसम्म सडक कालोपत्रे हुनेमा विश्वस्थ भएको बताए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्