अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारका लागि बजेट अभाव नहुने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उनले तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको बताए । कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ । सातौं वार्षिकसभामा बनेपा नगरपालिका र खानिखोला गाउँपालिका उत्कृष्ट पालिका घोषित भए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयद्वारा तयार पारिएको स्थानिय तह संस्थागत क्षमता मुल्याङकनका आधारमा बनेपा र खानीखोला उत्कृष्ट पालिका बनेका हुन् । कार्यक्रममा पूर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद गोकुल बासकोटा, काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ का संसद सूर्यमान दोङ र जिल्लाका स्थानिय सरकार प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई सम्मान गर्दै बिदाई गरेको छ । जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सभामा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’का सेकेन्ड रनरअप शरद हुमागाईँलाई पनि सम्मान गरिएको थियो ।
