झण्डै एक सताब्दी हुनै लाग्यो पनौतीमा कोँद्यको जात्रा हराएको । विशेष महत्व रहेको कौँद्य जात्रा बारेमा आजका युवा पिंढिहरुलाई थोरै भएपनि जानकारी प्राप्त होस भन्ने उदेश्यले लेख्न चाहेको हुँ । कौँद्य कुन देवता हो । काँैद्यको जात्रा कहिले हुन्छ कसरी हुन्छ र जात्राको प्रसादको महत्व के छ, कहाँ जोडिएको छ आदि बारे मलाई प्राप्त जानकारी अनुसार उल्लेख गर्दछु ।
नेवारी भाषामा कोँ भनेको घ्याम्पोको जस्तै ठूलो मुख भएको तर अलिक सानो गाग्री भन्दा आकारमा अलिक ठूलो माटोको भाँडो हो । त्यस्तो भाँडाको बाहिर पट्टि एउटा ठूलै आकारको भैरवको जस्तै ठूलो अनुहारको मकुण्डो समेत भएको सानो घ्याम्पोलाई नै कोँद्य भनेर भनिन्छ । अनुहार हेर्दैमा डरलाग्दो देखिन्छ । कोँद्यलाइै भैरवको प्रतिरुप भनेर भनिन्छ । नेपालमा अनेक नामका भैरवहरु छन् जस्तै कालभैरव, सेतो भैरव आकाश भैरव, महाँकाल भैरव, विरभद्र लगायत सयौँ नामका भैरवहरु छन् । महादेवको अर्काे रुप भैरव हुन । भैरव अत्यन्त वलियो विध्वषक, शक्तिशाली देवता भएकोले राक्षस भुतपे्रत र खराब तत्वहरुको विनाशक र राम्रा र असलहरुको रक्षकको रुपमा मानिन्छ र पुजिन्छ । टोल वस्ती र देशकै रक्षक भएकोले भैरवको स्थापना सवैतिर भएको पाइन्छ । ति मध्ये कोँद्य पनि भैरव कै अर्काे एक रुप हो । पचली भैरव घैँटाको रुपमा छन् भन्ने भएकोले शायद उनै भैरव कोँद्य हुनुपर्छ ।
पनौतीमा कोँद्य कहाँकहाँ छन भन्ने कुरा धेरैलाई जानकारी नभएको हुनुपर्छ । मेरो खोजमा कम्तीमा चारठाउँमा कौँद्य रहेको ज्ञात भयो । कोँद्य रहेको पहिलो स्थान प.न.पा वडा नं. ७ अघाटोल स्थित न्हुफ(नयाँ पाटी) को पूर्वपट्टिको दलानमा कोठा बनाइ राखेका थिए । दोश्रो भद्रकाली द्यछेँको भुईतल्लाको भित्री कोठामा रहेको छ । तेस्रो क्वाथ सँगै स्थित महालक्ष्मी मन्दिरको उत्तरपट्टिरहेको चोकमा फुटाइ राखेको कोँद्य अझै त्यहाँ रहेको देख्न सकिन्छ । चौथो ख्वाउँचोक स्थित भैरवको पुजारी स्व.मुन्दासको घर पछाडी चोकमा पनि कोँद्य राखिन्थ्यो । उक्त कोँद्य जात्रा पर्व हेरि उन्मक्त भैरव स्थानमा लगेर राख्ने र फिर्ता ल्याएर आफ्नै घर पछाडि राखिन्थ्यो । अहिले कोँद्येको दर्शन गर्नु प¥यो भने भद्रकालीको द्यछेँमा मात्र हेर्न सकिने अवस्था छ । खासमा कोँद्य जात्रामा बाहेक अरु बेला लुक्ने वा लुकाएका हुन्छन् । हिजो सम्बन्धित व्यक्ति वा परिवारले आफ्नो धर्म, कर्तव्य सम्झेर जात्रा संचालन गर्न अघि सार्थे तर आज त्यो समय नरहेकोले हराएका जात्राहरु पुन संचालन गरि आफ्नो ठाउँको साँस्कृतिक सम्पदा जोगाउनु आजका स्थानिय सरकारको दायित्व होइन र ?
प्रत्येक सालको बैशाख महिनातिर भक्तपुरबाट नवदुर्गा भवानीको गण ४ दिनको निम्ती पनौतीमा ल्याउने परम्परा चलिरहेको अवस्था छ । पहिलो दिनको साँझपखबाट पनौती बासीहरुको पुजा थाप्ने गरिन्छ । टोल टोलमै पुगेर पुजा थाप्दै जाने क्रममा अन्त्य गर्ने स्थान चैँ महालक्ष्मी स्थान अर्थात विश्राम तम्राकारको घर अगाडीको चोकमा पुग्ने रहेछ । त्यहाँ नवदुर्गाको गण नै नाच्नुका साथै कुमारी तुले गर्नुे चलन रहेछ । सोही बखत नवदुर्गा गण सँगै लगेका महादेवको प्रतिमा बोकेर उता चोकमा रहेको कोँद्य छेउ लगेर पुजा प्रसाद चढाउनेवा महादेवले आफ्नो अर्काे रुप कोँद्यसित भलाकुसारी गर्ने गरेको र तन्त्रमन्त्र सहित हुने कुरा साधारण जनमानिसलाई थाहा हुने कुरा पनि भएन । त्यसपछि त्यो दिनको अर्थात रातको नवदुर्गाले पुजा थाप्ने काम समाप्त हुन्छ र नवदुर्गा गण सुत्ने स्थानतिर लाग्ने गर्दछन् ।
काठमाडौमा इन्द्र जात्रा हुनुभन्दा अघि भाद्र महिनामा पनौतीमा कोँद्यको जात्रा गरिन्थ्यो कोँद्य शायद सम्बन्धित मान्छेहरुले काँधमा बोकेर बजार परिक्रमा गर्दथ्यो । बताए अनुसार पनौतीमा रहेका चार वटै कोँद्यहरुको जात्रा एकै साथ गर्दथ्यो । कहिले काँहि त आठवटा हुन्थ्यो रे । शायद नयाँ पुराना कोँद्यहरु बोक्न मान्छेहरु तयार हुन्थे । रमाउँथे नाच्थे जात्रा सकेपछि कोँद्यकाो ध्यान गरि जाँड राखेर प्रसादको रुपमा सोही जाँड पिलाउँथे । खास गरि हरिसिद्धिको सत्तल पाटीमा उक्त जाँड प्रसाद बाँड्ने गरेको कुरा जानकार बुढापाकाहरु बताउनु हुन्छ । सोही प्रसाद काठामाडौमा सम्बन्धित स्थानमा नपु¥याए सम्म इन्द्रजात्रा चलाउनु हुँदैनथ्यो पाकाहरु बताउँछन् ।
भक्तपुरबाट नवदुर्गा ल्याउनु, साँखु र भक्तपुरबाट स्वस्थानी व्रतालुहरु पनौतीमा स्नान र व्रतवस्न आउनु, ललितपुरबाट हरिसिद्धि ल्याउनु र काठमाडौमा पनौतीबाट प्रसाद पु¥याउनुपर्ने यो गजवको धार्मिक साँस्कृतिक समन्वय र सम्बन्धको द्योतक हो भनेर नमानी सुखै छैन । यसरी प्राचीन काल देखि रहँदै आएको जात्रा पर्व हराउन वा वेवास्ता गर्नु धार्मिक दृष्टिकोणले पाप बोक्नु हो भने एउटा महत्वपूर्ण साँस्कृतिक सम्पदा गुमाउनु निश्चिय नै पनौतीले घाटा व्यहोर्नु पर्ने कुरा हो । त्यसकारण पनौती नगरपालिका अन्तर्गतको धर्म संस्कृती तथा जात्रा पर्व संचालन समितिले त्यसरी हरायका विर्सेका जात्रा पर्वहरुको खोजी गर्ने र पुन संचालन गर्न पहल गर्याे भने सिङ्गो पनौती जुरुक्क उठन सक्छ विलम्ब नगरौँ । नगरपालिकाका जिम्मेवार जन प्रतिनिधिहरुको पहल प्रयाश र कृयाशिलताले झन छिटो कार्यथालनी हुनेछ भन्ने विश्वास गर्दछु ।
