काभ्रे जिल्लामा पहिलो स्नातक गरेर शिक्षा क्षेत्रमा ज्योति छर्नुहुने सबैका आदरणीय ज्ञानकाजी मानन्धरले ८९ वर्षको उमेरमा भदौ ८ गते देहत्याग गरि हामीबाट महाप्रस्थान गर्नुभएको छ । उहाँ वरिष्ठ संस्कृतिविद् हुनुहुन्थ्यो । नेवारी, नेपाली र अङग्रेजी भाषामा बोल्न र लेख्न सक्ने धुरुन्धर विद्धावान ज्ञानकाजी मानन्धरको निधनसँगै बनेपामा काजी युगको पनि समाप्त भएको छ । राजनीतिज्ञ आशाकाजी वैध, पूर्णाकाजी कायस्थ, व्यापारी डबलकाजी श्रेष्ठ, शिक्षासेवी आशाकाजी सेवक जस्ता चर्चित काजीहरुको देहावसान भइसकेको छ ।
ज्ञानकाजी सरको जन्म वि.सं. १९९१ पुस २६ गते बनेपा स्थित वांख्योटोलमा पिता मोहनलाल खिं मानन्धर र माता लक्ष्मीमायाका कान्छा छोरा हुनुहुन्थ्यो । उहाँका पिता कै प्रेरणाले उहाँमा इतिहास पुरातत्वक विषयमा भोक जागेको थियोे । उहाँ नेपालभरीका मानन्धर समुदायको शान हुनुहुन्थ्यो ।
उहाँले बनेपा स्थित आजाद मा.वि. बनेपा, प्रौढ शिक्षा निकेतन, शारदा मा.वि.लगायतमा ३८ वर्ष अध्यापन गराउनु भएको थियो । शिक्षणसेवासँगैै व्यापारमा पनि अत्यन्तै सफल उहाँमा कुनै कुन्ठाको भावना थिएन । सबैको भलो चिताउने उहाँ काभ्रे जेसिसका संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । विभिन्न सामाजिक संस्थामा उत्तिकै योगदान पु¥याउनु भएका आदरणीय ज्ञानकाजी मानन्धरको १३ औ दिनको पुण्यतिथिका दिन भदौ २० गते बुधबारका दिनमा काभ्रे टाइम्सले स्मृति अंक प्रकाशन गर्ने भएको छ । माडसापसँग गासिएका गहकिला लेख रचनाको हामी सम्बन्धित सबैमा माग गर्दछौं ।
शिक्षासेवी हुँदाहुदै उहाँले इतिहास संस्कृतिका दर्जन भन्दा बढी पुस्तक लेख्नु भएको छ । काभ्रे टाइम्स साप्ताहिकको प्रकाशनसँगै निरन्तर कलम चलाउँदै आउनुभएका माडसापको व्यक्तित्व र कृतित्व चिनाउने धेरै खोजमूलक लेखहरू पहिला हामीले प्रकाशन गर्न पाउँदा गर्व लागेको छ । पछि ती सबै पुस्तकका रूपमा आएका थिए । उहाँका श्रीमती, ३ छोरा र दुई छोरी छन् ।
