लम्पी स्कीन रोगसँग सम्बन्धित रहेर जिल्ला समन्वय समिति काभे्रले विमा कम्पनिका प्रमुख एवं प्रतिनिधिहरुसँग सोमबार छलफल कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतमले सबै बिमा कम्पनिले पशुपंक्षीको विमा नियमानुसार सहज तबरले गर्न आग्रह गर्नुभयो । पशुपंक्षीको बिमा नविकरण गर्न अनुरोध गर्दै गौतमले महामारीको रुपमा फैलिरहेको लम्पी स्कीन रोगलाई परास्त गर्न सबै सरोकारवाला निकायहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल न.पा धुलिखेल न.पा, बनेपा न.पा, पनौती न.पा, नमोबुद्ध न.पा, र तेमाल गा.पामा बढी पशुहरु संक्रमित भएको पाइएको छ । यस जिल्लामा हालसम्म २८,६५६ पशुहरु संक्रमित भैसकेका छन् भने १२७४ वटा पशुको मृत्यु भएको छ । यस रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभाग र मातहतका निकाय , प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहका कार्यरत पशु स्वास्थ्यकर्मी रहेका छन् । प्रभावित पशुको उपचारको लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधीको व्यवस्था सहित प्राविधिक परिचालन गरिएको छ । काभे्रपलाञ्चोक भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र स्थानीय तहहरुको पहलमा खोप कार्यक्रम सञ्चालन भइरहेको बताइएकोे छ । कार्यक्रममा प्रमुख गौतमले सबै विमा कम्पनीहरुलाई मृत्यु भएका विमित पशुहरुको विमा बापतको रकम तत्काल भुत्तानी गर्नुहुन , पशु विमाको कार्यक्रम थप प्रभावकारी रुपमा अघि बढाउन, स्थानीय तहहरुलाइ पनि मृत्यु भएका पशुहरुको क्षतिर्पूतिको व्यवस्था गर्नुहुन समेत अपिल गर्नुभयो ।
