पनौती नगरपालिकाले मेरो भ्वाइस युनिभर्सको टप सेभेनमा परेका पनौति निवासि शरद हुमागाईंलाई जिताउन अपिल गरेको छ । विहिबार पनौती नगरपालिकाले पत्रकार सम्मेलन गर्दै शरद पनौती नगरको मात्रै शान नभएर बागमती प्रदेश र नेपालकै शान भएकोले आवश्यक पर्ने भोटिङ लगायत सबै किसिमको सहयोग गर्न अभियान चलाइने पनौती नगरपालिकाका प्रमूख रामशरण भण्डारीले बताउनुभयो । पनौती नगरपालिकाको कुशादेवीमा जन्मिएका शरद बाल्यकाल देखि नै गीत, संगीतमा रुची राख्ने गर्थे । उनी अहिले विश्वका ५२ देशहरुबाट भाग लिएका प्रतिश्पर्धीवाट छानिएर शिर्ष ७ औं स्थानमा आफुलाई राख्न सफल भएका छन् । पनौती नगरपालिकाकी उपप्रमूख गीता बञ्जराले शरदले गरेको आँट साहस र उसको सपना केवल उसको मात्रै नभएर नगरको गौरवको सपना समेत रहेको बताउनुभयो । सम्मेलनमा सम्बोधन गर्दै शरदकी आमा विनिता हुमागाईँले साँगितिक क्षेत्रमा अघि बढिरहेको शरदको सपनालाई साकार पार्नका लागि भोटिङ गरिदिनुहुन आग्रह गर्नुभयो । इन्ट्रा–नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस यूनिभर्सको उपाधी प्राप्तिका लागि उनले गरेको मिहिनेतलाई पनौती र काभ्रेका सम्पूर्ण आमा बुबा दाजु भाइ दिदी बहिनीहरुले माया र हौसला दिन शरद हुमागाईंलाई भोटमार्फत जिताउन इन्ट्रा एप्स डाउनलोड गरी भोटिङ गरिदिन नगरपालिकाले आह्वान गरेको छ ।
