यहि असोज ६ गते विश्व शान्ति दिवसका अवसरमा पनौती देखि नमोबुद्धसम्म विश्व सांस्कृतिक पदयात्रा आयोजना गरिने भएको छ । शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा पदयात्रा आयोजक एवं काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले एक दिवसीय विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको जानकारी दिनुभयो । पदयात्रा पनौतीमा रहेको राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इट्टे, शंखु, शंखेश्वरी हँुदै नमोबुद्ध पुग्नेछ । ९.८ किमी लामो पदयात्राका लागि साढे ३ घण्टा लाग्नेछ । पनौती र नमोबुद्धको पहिचान र परिचयलाई अझ उच्च बनाउनका लागि शान्तिका प्रतिक गौतमबुद्धको पहिलो जन्मस्थलमा शान्ति पदयात्रा आयोजना गर्न लागिएको आयोजकहरुले बताएका छन् । प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमले जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरुको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन शान्ति पदयात्रा महत्वपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । स्थानिय कला संस्कृतिको सम्बद्र्धन गर्ने, विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउने काभ्रेमा जन्मिएर काठमाडौँमा विभिन्न पेसा ब्यवसायमा संलग्नहरुलाई काभ्रेसँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहलसँगै दबाब सिर्जना गर्ने, धार्मिक सर्किटको रुपमा विकास गर्ने, पनौती नमोबुद्ध ट्रेकिङ्ग रुट निर्माणका लागि पहल गर्ने शान्ति पदयात्राको उदेश्य रहेको छ । विश्व शान्ति पदयात्रा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा जिसस उपप्रमुख रिम बहादुर तामाङ, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्य,नेपाल पत्रकार महासंघ काभे्र अध्यक्ष बद्रीराज तिमल्सिना, शिक्षा सेवी भोला केसी, उद्योगीहरु, सञ्चाकर्मी, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । काभे्र सेवा समाजका उपाध्यक्ष लभराज जोशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव राघब सिंह थापाले गर्नुभएको थियो ।
