बनेपा÷ गाई भैंसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको सन्दर्भमा बनेपा नगरमा भने नियन्त्रणको प्रयास गरिएको छ । बनेपा नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ मा फैलिएको र अन्य वडामा केहिमा मात्रै देखिएको तर हाल नियन्त्रणमा रहेको बनेपा नगरपालिका पशुपन्क्षी शाखा प्रमुख रामसुन्दर सापकोटाले बताउनुभयो । बनेपामा मृत्युदर निकै कम भएपनि ६ हजार गाईमा उक्त रोग देखिएको सापकोटाले जनाउनुभयो तर उक्त रोगका कारण किसानले ठुलो नोक्सानी व्यहोर्नु परेको सापकोटाको भनाई छ । लम्पी स्किन रोग ल्याउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरुको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । आफ्नो फर्ममा यो रोग भित्रिन नदिन विस्वसनीय श्रोतबाट मात्रै गाईभैंसी खरिद गर्नुपर्दछ । यो रोग लागेर गाई हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनः नयाँ गाई राख्नु हुँदैन र नयाँ गाई राख्नुपर्दा पनि कम्तिमा २८ दिन अघि यो रोग विरुद्धको खोप लगाएको गाइहरुमात्र खरिद गर्नुपर्ने सापकोटाले बताउनुभयो । कृषकहरुले त्यस्तै जैविक सुरक्षा सर्तकता बढाउने, गोठलाई झिङ्गा, लाम्खुट्टे, तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाईमा ध्यान दिने, गर्नुपर्ने सापकोटाले बताउनुभयो । नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको निशुल्क उपचार र खोप लगाउँदै आएको र कृषकहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । किसानको गोठमै पुगेर नगर प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा, २ नं वडा अध्यक्ष रामप्रसाद घिमिरे, वडा नं ३ का वडा अध्यक्ष रमेश प्रसाद दहालले अभियानको रुपमा घरघरमा गई सुझाव दिनुभएको छ ।
