धुलिखेल अस्पतालले सामाजिक सुरक्षा कोषको सेवा थालनि गरेको छ । हिजो पत्रकार भेटघाट गर्दै अस्पताल प्रशासक प्रधुम्न श्रेष्ठले कोष र अस्पताल विच जेठ २२ गते सम्झौता पत्रमा हस्ताक्षर गरिएको जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषमा जम्मा ५५ वटा अस्पतालहरु आवद्ध रहेका छन् । सामाजिक सुरक्षा कोषमा सहभागी हुनेहरु लाई उपचारमा ८० प्रतिशत रकम कोषले प्रदान गर्नेछ भने २० प्रतिशत रकम मात्रै बिरामीले तिर्नुपर्ने श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी ईन्डोक्राईनोलोजी सेवाको समेत स्तर वृद्धि गरिएको डा. राजेन्द्र ताम्राकारले जानकारी दिनुभयो । मधुमेह, थाइरोइड सँग सम्बन्धित यो सेवा धुलिखेल अस्पतालले प्रदान गरिरहेको छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले सहजिकरण गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघ काभे्र शाखा अध्यक्ष बद्रिराज तिमल्सिना लगायतका पत्रकारहरुले अस्पताल सुधारका विविध विषयमा ध्यानाकर्षण गराएका थिए ।
