सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने सदस्यहरुलाई स्थानीय सरकारले प्रवाह गरेको सेवा सुविधाबाट बञ्चीत गर्ने भएको छ । बनेपा नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाहरुबाट कर्जा लिई संस्थाले ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेका संस्थाका सम्बन्धित ऋणी सदस्यहरुले समयमै कर्जा चुक्ता गरिदिनुहुन र बचतकर्ताहरुको बचत रकम सुरक्षाको लागि सम्बन्धित सहकारी संस्थाका पदाधिकारीहरु पनि संवेदनशिल भइदिनुहुन अनुरोध गरेको छ । ऋण नतिर्ने सदस्यहरुको हकमा सम्बन्धित सहकारीले अनुरोध गरेमा त्यस्तै पदाधिकारीहरुको हकमा त्यस्तो अवस्था आएमा निजहरुको र निजहरुको एकाघरका र व्यक्तिहरुको नाममा रहेको जग्गा रोक्का राख्न तथा स्थिानीय स्तरमा सार्वजानिक निकायबाट निजलाई उपलब्ध गराइएको सेवा सुविधाहरु स्थगन गर्न र अन्य कारवाही प्रक्रिया अघि बढाउन सम्बन्धीत निकायलाई अनुरोध गर्ने कुरा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगााईले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ । त्यसैगरी पाँचखाल नगरपालिकाले पाँचखाल नगर कार्य क्षेत्रभित्र सञ्चालित सहकारीहरका सदस्यहरुले आफूले लगेको ऋण रकम, साँवा व्याज किस्ता रकम बुझाउन सम्बन्धित संस्थाले ताकेता गर्दा अटेर गरी म्याद गुजारेर बसेकाले बचतकर्ताहरुको बचत फिर्ता दिन नसक्दा सहकारी क्षेत्रमा समस्या पैदा भएकाले रकम बुझाउन सूचना जारी गरेको छ । ऋणी सदस्यहरुले ऋण किस्ता ब्याज बक्यौता रकम तिर्न प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रसाद गोतामेले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ । नतिरेको खण्डमा सम्बन्धित सहकारीको अनुरोधमा सार्वजानिक सेवा प्रवाह स्थगन गर्ने पाँचखाल नगरले जनाएको छ ।
