काभ्रे जिल्लमा यस वर्षको ’मनसुनजन्य वर्षात विपदमा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । जसमध्ये सबैभदा बढी मण्डनदेउपुर नगरपालिकामा उच्च जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति विहीबारको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइएको थियो । मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर घटनाको उच्च जोखिममा रहेको बताइएको छ ।
प्राकृतिक प्रकोप वर्षातका कारण तथ्याङ्क बमोजीम धुलिखेल नगरपालिकामा ३ सय २०, बनेपामा दुई सय ५९, पनौतीमा दुई सय छ, पाँचखालमा १ सय ५८, नमोबुद्धमा २ सय ५० घर प्राकृतिक प्रकोप बाढी–पहिरोको उच्च जोखिममा रहेका हुन् । यस्तै खानीखोला गाउँपालिकाको दुई सय २२, रोशीका ३४५, तेमालका तीन सय आठ, चौरीदेउरालीका दुई सात, भुम्लुका तीन सय नौ र महाभारत गाउँपालिकाको दुई सय २० घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको हो ।
बैठकमार्फत मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन काभ्र जिल्लाका १३ स्थानीय तहलाई निर्देशन दिइएको छ । समितिले बाढी, डुवान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित – स्थानमा स्थानान्तरणा गर्न सहजीकरण गर्न आग्रह गरेको हो ।
यसअघिका महिनामा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारी स्वरुप सुरक्षा निकायको उद्धारको पूर्वाभ्यास गरेका थिए। शसस्त्र प्रहरी बल नेपालको नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ न गण सिन्धुपाल्चोक गरी दुई जिल्लाका शसस्त्र प्रहरीद्वारा सुनकोशी नदीमा गत जेठमा उद्धारको पूर्वाभ्यास गरेका थिए भने नेपाली सेनाको धुलिखेलस्थित कालीजङ्ग गणले ’मनसुन ३’ नामाकरण गर्दै विपद जोखिम न्यूनीकरणको लागि पूर्व अभ्यास गरेको थियो ।
काभ्रे र सिन्धुपाल्चोक दुई जिल्ला विपद्को उच्च जोखिममा रहेको जनाउँदै थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाट स्थित सुनकोशी नदीमा पूर्वाभ्यास गरिएको थियो । चालु आर्थिक बर्षमा काभ्रेमा चार सय २४ जना प्राकृतिक प्रकोपमा परेको जनाइएको छ । यसमध्ये पहिरो, आगलागी, चट्याङ, हावाहुरी, करेन्ट तथा दूर्घटनाबाट ५९ को मृत्यु भएको थियो भने तीन सय ७७ घाइते, सुरक्षाकर्मीले ३३ को उद्धार गरेका जनाइएको छ ।
