नेपालको संविधानको धारा २३० को संवैधानिक व्यवस्था अनुरुप स्थानीय तहले हरेक वर्ष असार १० गते भित्र नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ तर केही स्थानीय तहले भने निति कार्यक्रम मात्र ल्याउन सकेका छन् ।
बनेपा नगरको बजेट १ अर्ब ३५ करोड
बनेपा नगरपालिकाको १३ औं नगर सभाको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अरनिको राजमार्ग विस्तारका क्रममा हुनसक्ने पूर्वाधार क्षतिको तत्काल मर्मत र निर्माण, सबै वडा कार्यालयसम्म पुग्ने पक्की सडक निर्माण गरिने जानकारी दिनुभयो । सडक पूर्वाधार गुरुयोजना, नगर क्षेत्र समेटिने रिङ्गरोड निर्माण, नगर सुरक्षाका लागि मुख्य र संवेदनशील चोक र गल्लीहरुमा सिसि क्यामेरा जडान गर्ने, भएका क्यामेराहरु अद्यावधिक गर्ने, नगर भित्रका विद्यालयहरुबाट कक्षा ५,८, १० र १२ को नतिजाको आधारमा ४ वटा विद्यालयलाई नगद सहित उत्कृष्ट मेयर शैक्षिक पदकबाट सम्मान गर्ने घोषणा गरेको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले नगरको आगामी वर्ष २०८०/८१ को बजेट १ अर्ब ३५ करोड ४९ लाख ७२ हजारको बजेट पेश गर्नुभएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईँ, वडाअध्यक्षहरु, सदसयहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
धुलिखेल नगरपालकाको बजेट १ अर्ब १५ करोड
प्रत्यक्ष रोजगारी श्रृजना गर्ने देखि दीर्घारोगीहरुलाई घर घरमा औषधी
धुलिखेल नगरपालिकाले आ.व २०८०/८१ को लागी नगर सभाको १३ औं अधिवेशन बुधबार सम्पन्न भयो । नगर सभामा आगामी वर्षका लागि १ अर्व १५ करोड १५ लाख बजेट रकम विनियोजन गरेको छ । स्थानीय सरकारले असार १० गते भित्र नीति कार्यक्रम र बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । काभे्र जिल्लाका १३ स्थानीय सरकार मध्ये पहिले बजेट ल्याउने धुलिखेल नगरपालिका हो । दीर्घ रोगीहरलाई घरघरमा औषधी, प्रत्यक्ष रोजगारी श्रृजना गर्ने एक वडा एक कार्यक्रम आर्थिक विकासको आधार उद्यमशीलता र रोजगारी मेयर गरीवी निवारण कार्यक्रम, उद्यमी युवा समूह धुलिखेल निर्माणमा टेवा जस्ता योजनावद्घ योजना निर्माण गरी नीति कार्यक्रम प्रस्तुत गरी बजेट विनियोजन गरिएको छ । आ.व २०८०/८१ का लागी नगर प्रमुख अशोककुमार व्याञ्जुले नीती कार्यक्रम र बजेट, उपप्रमुख निराजन जंगमले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक र विनियोजन विद्येयक सर्वसम्मतले पास गरेको छ । नगरसभाका सचिव एवं प्रमुख प्रसासकीय अधिकृत सुरेन्द्र थापामगरले पास गरेका विद्येयकहरु प्रक्रियागतरुपमा प्रमाणीकरण भएपछि कार्यन्वयन हँुदै जाने बताउनुभयो ।
छानविन समिति गठन
धुलिखेल नगरपालिकाको विषयमा संचार माध्यम, सामाजिक संजालमा आएका सूचना, धुलिखेल नगरपालिका क्षेत्र भित्रका तीन राजनीतिक दलहरु तथा वडा अध्यक्ष बद्री प्रसाद हुँमागाइबाट प्रस्तुत ध्यानकर्षण पत्रका सम्बन्धमा निष्पक्ष छानविन गर्न कार्यपालिका सदस्यहरु मध्येबाट समिति गठन गर्ने, कार्यन्वयन गर्ने, विषय सुधार गर्नुपर्ने निणर्य गरेको छ । नगर प्रमुख अशोक व्यञ्जुको अध्यक्षतामा बसेको बुधबारको बैठकले तीन जनाको छानविन समिती गठन गरेको छ । धुलिखेल वडा नं ९ का वडा अध्यक्ष बद्रीप्रसाद हुमगाई, वडा नं ८ का अध्यक्ष विनोद गौतम र वडा नं १० का वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्याय छानविन समितिको सदस्य रहनुभएको छ । धुलिखेल नगरपालिकाको विषयमा संचार माधयम, सामाजिक सञ्जालमा आएका विषय वस्तुप्रति नेपाली कांगे्रस धुलिखेल नगर समिति र नेकपा माओवादी केन्द्र धुलिखेल नगरसमिति र नेकपा एकिकृत समाजवादी धुलिखेल नगरकमिटीबाट दिइएको संयूक्त ज्ञापन पत्र एवं गत जेष्ठ ३२ गतेको कार्यपालिका बैठकमा वडा अध्यक्ष बद्रीप्रसाद हुमागाई सहित ७ जनाले दिइएको ज्ञापनपत्र सम्बन्धमा ध्यानाकर्षण भएको पत्र प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगरले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र सार्वजानिक गरेको छ । नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४, तथा अन्य कानुनको आधारमा वितीत्य उत्तरदायित्व ऐन, २०७६ सहित प्रचलित कानुनको अधिनमा रही प्राप्ति अधिकार बमोजीम नगरपालिकाले कार्य सम्पादन गरेको पत्रमा उल्लेख गरेको छ । खाना, खाजा विभिनन वैठक, कार्यक्रम अतिथी सत्कार लगाायतका साथै गाडी भाडा, प्रशिक्षण फिल्ड निरीक्षण, नाप जाँच योजना वडा अनुगमन अतिथी, संघ प्रदेश (प्रशासनिक कार्य), इन्धन तथा मेशिनरी उपकरण, डोजर, एम्बुलेन्स, १३ वटा सवारी साधन एवं करीव ३ दर्जन जति कर्माचारीका मोटरसाइकलमा इन्धनमा भएको खर्चको भूक्तानि गरेको नगरपालिकाले जनाएको छ ।
किन भयो पनौती नगर सभा स्थगित ?
पनौती नगरपालिकाको १३ औं नगर सभा आइतबार स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको विरोध सँगै नगरसभा स्थगित भएको हो । नगर उप प्रमुख गिता बञ्जाराका अनुसार नीति कार्यक्रम र बजेटको बारेमा कार्यपालिका बैठकमा छलफल नै नगरी एकलौटी ढङ्खबाट नगर प्रमुख रामशरण भण्डारी अघि बढ्न खोज्दा समस्या आएको बताउनुभयो । उप प्रमुख बञ्जाराले बजेट कतिको आउँदै छ, कुनकुन वडामा कति बाँडफाँड गर्ने, नगरको आन्तरिक श्रोत अय घट्दै छ आय श्रोत कसरी बढाउने नगरको विकास र समृद्घि कसरी गर्ने भन्ने सवालमा कुनै छलफल नहुने, विगतमा कार्य गरेका सबै कर्मचारीहरुलाई हटाएर नयाँ कर्मचारी भर्ती गर्ने नीति ल्याउन नगरप्रमुख रामशरण भण्डारी लगायत कांगे्रसबाट निर्वाचित जनप्रतिनिधिहरु एकतावद्घ भएका कारण नगरसभा स्थगित भएको हो भन्नुभयो । कहिले कार्यपालिकाका बैठक स्थगित, नगरपालिकाको नगर सभा हुँदा सधंै बखेडा पनौती नगरपालिकामा नै चाहिँ किन हुन्छ आइतबारको नगर सभा किन स्थगित भयो, बजेट नआए जनताको विकासको अधिकार हनन हुन्छनी भन्ने जिज्ञासामा नगर प्रमुख रामशरण भण्डारीलाई जिज्ञाशा राख्दा यस्तो प्रतिक्रिया दिनुभयो । सुशासन सहितको सक्षम सवल प्रभावकारी सेवा गर्न, प्रशासन संयन्त्र भएको नगरको परिकल्पनालाई कर्मचारी दरबन्दी सम्बन्धी प्रावाधान अनुसार नगरको कार्यबोझ, राजस्व क्षमता खर्चको आकार स्थानीय आवस्यकता अनुसार संगठन र व्यवस्थापनलाई चुस्त दुरुस्त राखेर अघि बढौं भन्दा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेर नगर सभा नै सञ्चालन गर्न दिएनन् आ आफ्नो स्वार्थ पूर्ति हुन नपाउँदा पटकपटक कार्यपालिका बैठक अवरुद्घ गरियो । प्रतिपक्ष रहित स्थानीय तहको परिकल्पना संविधानले गरेता पनि एमालेका जनप्रतिनिधिहरुको व्यवहारमा त्यस्तो देखिएन, जनताप्रति जवाफदेही नहुनु गैर जिम्मेवारीपन हो । पनौती नगरपालिकाका जनताहरुले यसको राम्रो हिसाब किताब राख्ने कुरा नगरप्रमुख भण्डारीले राख्नुभयो । जारी रहेको पे्रस विज्ञप्तिमा भनिएको छ । पनौती नगरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने, एकिकृत खानेपानी योजना सम्पन्न गर्ने, क्षेत्रिय रंगशाला, करीडोर निर्माण गर्ने, फोहार मैला व्यवस्थापन, विकास निर्माण गर्ने उत्पादनमा जोड्ने भ्रष्ट्राचार मुक्त, सुशासित गर्ने, मुल कार्यवहारलाई विर्सेर आ आफ्नो स्वार्थ सिद्द गर्ने तिर ध्यान केन्द्रित गर्नु गैर जिम्मेवारीपन हो । यसो नगरी जनताको मतलाई सम्मान गर्दै १३ औं नगर सभा चाँडो सूचारु गर्न आव्हन गर्दछु । नगरप्रमुख भण्डारीले पे्रसित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नमोबुद्ध नगर सभाको बजेट
७२ करोड ७५ लाख ६४ हजार ८
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०/८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो । न्यायिक समितिका संयोजक समेत रहनुभएको उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगर सभाको अर्को बैठक २०८० असार २७ गते बस्ने तय भएको नगर सभाका सचिव समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो ।
मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख
मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभा समक्ष गरेको छ । नगरप्रमुख टोक बहादुर वाईबाले नगर सभाको १३ औँ अधिवेशन समक्ष नीति तथा कार्यक्रम टेबल गर्नुभएको हो । त्यस्तै उपप्रुमख विष्णुमणी नेपालले बजेट टेबल गर्नुभएको छ । नगरसभामा १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ बजेट टेबल गरिएको छ । जसमा १६ करोड सामाजिक सुरक्षा भत्ता सहित हो । सामाजिक सुरक्षा बाहेक कुल विनियोजित बजेटमध्ये ४७ करोड ६५ लाख ५८ हजार अर्थात ५१.८ प्रतिशत र पूँजीगत तर्फ कुल बजेटको ४४ करोड ३८ लाख ३९ हजार ०३३ अर्थात ४८.२० प्रतिशत रहेको छ ।
संघीय समानीकरण अनुदानबाट १० करोड ८५ लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड ९ लाख ६ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय सर्शत अनुदानबाट २७ करोड १६ लाख, प्रदेश सर्शत अनुदानबाट २ करोड २० लाख ९८ हजार, संघीय समपूरक अनुदानबाट ८० लाख, प्रदेश समपूरक ३ करोड, संघीय विशेष अनुदान २ करोड, आन्तरिक राजश्व १३ करोड ९० लाख रुपैयाँको अनुमान गरिएको छ । न्गरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्नका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रत्येक वडाको पूर्वाधार विकास,सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह कार्यक्रमका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ । नगरभित्रका भित्री सडकहरु सरसफाईका लागि १६ लाख ५० हजार विनियोजन गरिएको छ ।
साना तथा लघु प्रकृतिको योजना निर्माण तथा मर्मत सम्भारका लागि ६५ लाख विनियोजन गरिएको छ । जिसस काभ्रेको संगको समन्वयमा स्वास्थ्य संस्था तथा विद्यालयको पूर्वाधार निर्माण र मर्मतका लागि ५५ लाख रुपैयाँ ५५ लाख विनियोजना गरिएको छ । स्वास्थ्य सेवा नागरिकको पहुँच बृद्धि, स्वास्थ्य बिमा, औषधी तथा उपकरण खरिद, नगर अस्पताल सञ्चालन तथा अस्तापल स्तरोन्नतिका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ । सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चनले गर्नु भएको थियो ।
राशी गाउँपालिकाको बजेट ७४ करोड २७ लाख
युवाहरुलाई विदेश हैन स्वदेशमा विजनेस
राशी गाउँपालिकाले आगामी वर्ष २०८०/८१ को नीति कार्यक्रम बजेट प्रस्तुत गरी पास गरेको छ । आगामी वर्षको ७४ करोड २७ लाखको बजेट उप प्रमुख रिम बहादुर तामाङले प्रस्तुत गर्नुभयो । गाउँपालिका अध्यक्ष दिनेश लामाले आगामी वर्षको नीति कार्यक्रम बजेट प्रस्तुत गर्नुभयो । भौतिक पूर्वाधार तर्पm रोशीको गौरव सडक खण्ड योजना अन्तरगत चौकी डाँडा खहरे पाँगु सडक पिच गर्ने, प्रत्योक वडा जोड्ने सडक १२ महिना चल्ने बनाउने, प्रशासनीक भवन निर्माण सम्पन्न गर्ने, पर्यटन क्षेत्रको विकास तर्फ तीनधारे झर्ना, डम्फु जिवन्त संग्राहलयको पूर्वाधार निर्माण, अधेरी खोला पुल निर्माण, युवाहरुलाई विदेश हैन स्वदेशमा विजनेस, एक गाउँ एक उतपादन क्षेत्रको विकास गर्ने, सुत्केरी आमा पोशीलो खाना, दीर्घ रोगीहरुलाई र्औषधी उपाचार रकम उपलब्ध, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्घि, विद्यार्थीहरुको अनुपातका आधारमा शिक्षकहरुको दरबन्दी मिलान जस्ता कार्यक्रमहरु अघि सारेको छ । सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले गर्नुभएको थियो ।
भुम्लु गाउँपालिकाको बजेट ५८ करोड ६८ लाख
शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासमा जोड
भुम्लु गाउँपालिकाले आ.व २०८०/८१ को नीति कायृक्रम र बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथामिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पे्रम बहादुर भुजेलले बताउनुभयो । गाउँपालिका अध्यक्ष भुजेलले नीति कार्यक्रम प्रस्तुत गर्नुृभयो । गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले आगामी वर्षको ५८ करोड ६८ लाख १८ हजार बजेट सभामा प्रस्तुत गर्नुभयो । शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न पढ्दै पढाउँदै , विद्यालयमा अतिरिक्त शिक्षकको प्रवन्ध, प्रतिसपर्धामा प्रध्यापक नियुक्त जस्ता कार्यक्रमहरु अघि सारेको छ । गाउँपालिकाको प्रमुख आयश्रोत, ढुङ्गा गिटी, बालुवा विक्रिकर ,व्यवसायकर असुलीबाट आगामी वर्षको लागि ५ करोड बजेट संकलन गर्ने लक्ष्य लिइएको छ । कुल बजेटको २० प्रतिशत रकम कृषि क्षेत्रको विकासमा प्राथामिकता दिइएको छ । प्रमुख पूशासकिय अधिकृत विष्णु सुवेदिले सभाको सञ्चालन गर्नुभएको थियो ।
महाभारत गाउँपालिकाको बजेट ५८ करोड ३५ लाख
महाभारत गाउँपालिकाको आगामी वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । उपाध्यक्ष सागर मोक्तानले ५८ करोड ३५ लाख ६७ हजार बजेट प्रस्तुत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत हरि सिंह विस्टले सभाको सञ्चालन गर्नुभयो । पूर्वाधार विकास, शिक्षा स्वास्थ्यको पहुँच विस्तार र कृषि क्षेत्रको विकासलाई जोद दिएको छ ।
