जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा सञ्चालित विकास आयोजनाहरुको समिक्षा कार्यक्रम सोमबार काठमाण्डौ विश्व विद्यालयको सभाहलमा सम्पन्न गरेको छ । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले कार्यक्रमलाई सम्बोधन गर्दै विकासको योजना ल्याउँदा प्राकृतिक सम्पदाको संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । वन जंगल, चौतारो, कुवालाई विस्थापित गर्दै सडक खनेर मात्रै विकास नहुने भन्दै उहाँले भावी पुस्ताका निमिक्त सोचेर दिर्घकालिन योजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रदेश सांसद रत्न ढकाल, काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, विभिन्न नगरपालिकाका प्रमुख-उप प्रमुख, गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष, सरकारी कार्यलयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा १३ वटै पालिकाका प्रतिनिधिले र विषयगत सरकारी कार्यलयका प्रतिनिधिहरुले आ-आफ्नो प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी शान्ति राज प्रसाईले गर्नुभयो ।
