नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवनको तला थपका लागि बागमती प्रदेश सरकारबाट बीस लाख रुपैयाँ बजेट विनियोजन भएको छ । शुक्रबार बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को बजेट भाषणमा महासंघ काभ्रेपलाञ्चोक शाखाको भवनको तला थपका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले बागमती प्रदेश सरकारले महासंघको भवनको तला थपका लागि २० लाख रुपैयाँ विनियोजन भएकोमा आम काभ्रेली सञ्चारकर्मी खुशी भएको बताए । उनले बजेट विनियोजन गर्न नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तथा प्रदेश खानेपानी, उर्जा तथा सिँचाइँ मन्त्री तीर्थ लामा लगायत सबै निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल पत्रकार महासंघको राष्ट्रिय तालिम केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले काम शुरु गरेपछि बनेपा नगरपालिकाले बनेपा नगरपालिका–६ बुडोलमा ६ आना जग्गा प्रदान गरेको थियो । महासंघ काभ्रे शाखाले आर्थिक वर्ष २०६५÷०६६ देखि भवन निर्माणको काम शुरु गरेको थियो ।
