प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा सेवालाई निर्यातमुखी हुनबाट जोगाउन केही कदम चाल्नु पर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलको २८ औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै कुलपति समेत रहनु भएका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको गुणस्तरीयता वृद्धि गर्ने, विद्यार्थी कम हुँदै गएका कारण संकटमा पर्न थालेका सामुदायिक क्याम्पसहरु एकीकरण गर्ने र पूर्वाधार भएका स्थानमा मात्रै विश्वविद्यालय सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राईले शैक्षिक गुणस्तरीयता कायम गर्दै विश्वविद्यालयको प्रतिष्ठा जोगाउन आग्रह गर्नुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले चालु शैक्षिक वर्षमा भर्नाको दर ७० प्रतिशत मात्रै रहेकाले विश्वविद्यालयका लागि चुनौतीपूणर् अवस्था रहेको भन्दै उच्च शिक्षाका लागि विद्यार्थीहरु बिदेसिएकाले चिन्ता बढेको बताउनुभयो । दीक्षान्त समारोहमा पिएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ गरी १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका थिए । दीक्षित हुनेहरु मध्ये आर्टसमा ३५, एजुकेसन ५७, इन्जिनियरिङका ३ सय ६५, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साईन्सेजका ५ सय ६५ जना र साइन्सका १ सय ६७ विद्यार्थी छन् । विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङका ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरेको छ । हालसम्म विश्वविद्यालयबाट ४१ हजार २ सय ७५ जना विद्यार्थी उर्तिण भएका छन् । दीक्षान्त समारोहमा भारत लगायत ४ वटा देशका ७३ जना विद्यार्थी पनि सहभागी भएका छन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले स्कुल अफ ल को नव निर्मित भवनको उद्घाटन गर्नु भएको थियो ।
