ढुंखर्क । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिको आयोजनामा “चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” को उपाधि खानीखोला गाउँपालिका भलिवल क्लवले आफ्नो पोल्टोमा पारेको छ । क्लवले जीतसँगै नगद रु. ६० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै ललितपुरको आमन्त्रित क्लब महाङ्काल खेलकुद विकास समितिको भलिवल क्लबले द्वितीय स्थान हाँसिल गरेको छ । उसले नगद रु. ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सोमबार बेथानचोक गाउँपालिकाको वडा नं. २ ढुंखर्कमा भएको फाइनल खेलमा खानीखोलाले महांकाललाई २५–१९, २५–२०, २५–२२ को सोझो सेटमा पाखा लगाएको हो ।
तृतीय हुनेमा महाभारत गाउँपालिका टिम र पनौती नगरपालिका टिम रहेका छन् । दुवैै टिमले नगद रु. १५ ÷१५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट खेलाडी, बेष्ट डिफेन्स, बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट डिफेण्डर महांकाल क्लबका सुदिप सिंतान, उत्कृष्ट ब्लकर खानीखोलाका मनराज आलेमगर, उत्कृष्ट सेटर खानीखोलाका सुवास थोकर, उत्कृष्ट स्पाइकर महांकालका सुनिल विक र प्रतियोगिताका उत्कृष्ट खेलाडी खानीखोलाका सुमन थोकर घोषित हुनु भएको छ । प्रतियोगिताको समापन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खेलकुदमा मनोरन्जन मात्र नभई यसले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्ने भएकोले स्थानीय स्तरमा खेलकुदका लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्दै सक्षम र सवल समाज निर्माण गर्न खेल क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको पनि औल्याउनुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले प्रतियोगिता सम्पन्न पार्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिनु भयो । खेलले सदभाव, सदाचार र सहयोग भाव विकास गर्ने बताउनु भयो । उहाँले बेथानचोकका खेलाडीहरुको मनोवल बढाई खेलप्रति आर्कषित गराउन खेलकुदका लागि लगानी थप्ने बताउनु भयो । “तपाईहरु आफ्नो पालिका र राष्ट्रको शाख उच्च पार्न खेल्दै जानुस गाउँपालिकाले लगानी थप्दै जान्छ ।” उपाध्यक्ष राना तिमल्सिनाले बताउनुभयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले खेल जीवनको अभिन्न पाटो भएको र युवालाई एकता, टिम भावना र सहकार्यको एउटै मालामा गाँसिन अभिप्रेरित गर्ने भएकोले गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा बेथानचोक गाउँपालिका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिना (प्रमोद), वडा अध्यक्षहरु मधुसुधन तिमल्सिना वडा नं. १, पुरुषोत्तम तिमल्सिना वडा नं. २, राजकुमार वाईबा वडा नं. ५, गाउँपालिकाका पूर्व अध्यक्ष गोपालबहादुर तिमल्सिना, ललितपुरको महांकाल गाउँपालिका वडा नं. १ का अध्यक्ष रामप्रसाद घिमिरे, ३ का अध्यक्ष मनोजकुमार पराजुली, बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका पदाधिकारी, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा पार्वती क्याम्पसमा सहायक प्रमुख राजेश तिमल्सिना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विनोद तिमल्सिना, महांकाल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष राजु लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा भएको थियो ।
