गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिती काभे्रका प्रमुख दिपक गौतमले जिल्लामा भएका शहीदहरूको सम्मानको लागि शहिदहरुको प्रतिमा सहित शहीद पार्क निर्माण गरीने बताउनुभएको छ । मानवअधिकारकर्मी भोजराज तिमल्सिनाका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा लोकतान्त्रिक आन्दोलनमा ५ जना, प्रजातान्त्रिक आन्दोलनमा ६ जना, सशस्त्र द्वन्द्वमा २ सय ७८ जना र निर्वाचनका क्रममा १ जना गरी ३६ महिला र २ सय ५४ गरी २ सय ९० जना शहीद भएका छन । माओवादीको युद्धका समयमा मात्रै २ सय ७८ जनाको निधन भएको तिमल्सिनाले बताउनुभयो । काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न समयमा विभिन्न कारणबाट शहीद भएका ब्यक्तिका परिवारलाई सोमबार सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ज्यानको आहुति दिएर शहीद हुनु भएका ब्यक्तिहरुको सम्मानले गणतन्त्रको सम्मान हुने बताउनुभयो । २०६२÷२०६३ को जनआन्दोलनका क्रममा घाइते भइ निधन भएका शहिद मुकेश कायस्थकि आमा मिरा कायस्थले राज्यको तर्फबाट सम्मान पाउनु खुसी भए पनि विधिको शासन हुनु पर्नेमा जोड दिनुभयो । अर्का शहिद भिमप्रसाद तिमल्सिनाका छोरा विष्णु तिमल्सिनाले शहीदहरूमाथि राज्यले गरेको विभेदको अन्त्य हुनु पर्ने भन्दै गणतन्त्र गनाउदै गएको टिप्पणी गर्नुभयो । शहिद बलराम सापकोटाकि धर्मपत्नि सरिता सापकोटाले हत्याको कारण, हत्यारालाई कारबाही र परिवारको जिम्मेवारी लिन माग गर्नुभयो । शहीद, बेपत्ता र जनप्रतिनिधि समेत रहनु भएकी चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले बेपत्ता श्रीमानका बारेमा हालसम्म पहिचान नहुँदा कठिन भएको बताउनुभयो । नेपाली काँग्रेसका उप सभापति रमेशप्रसाद हुमागाईँ, नेकपा एमालेका जिल्ला सचिव राजन भुर्तेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, नेकपा समाजवादीका गोकुल गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले गणतन्त्र दिवसको महत्वका बारेमा धारणा राख्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाइले गर्नुभएको थियो ।
