यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको छ । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यौनधन्दा भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गेष्ट हाउसमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा होटलका सञ्चालकहरुले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको कुरा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागमती गाउँपालिका वडा नं ७ स्थाई घर भई हाल बनेपामा तेमाल गेष्ट हाउस एण्ड खाजा घर संचालन गरी बस्ने बर्ष ४२ का लालमान तितुङ र काभ्रेपलाञ्चोक जिल्ल्ला चौरी देउराली गाउँपालिका लामाटोल स्थाई घर भई हाल तेमाल गेष्ट हाउसमा काम गर्ने बर्ष २० को श्याम लामा रहेका छन् । उक्त होटलमा रहेका नाबालिका र किशोरीहरु पाँच जनालाई प्रहरीले उद्धार गरेको छ । गेष्ट हाउस संचालकहरुलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई दिन ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
