“नेपालको कृषि प्रवर्द्धनमा नेपाल भारत बिच सहकार्य“ बिचार गोष्ठी काभ्रेपलान्चोकको बनेपामा सम्पन्न ! नेपालको कृषि प्रवर्द्धनमा नेपाल भारत बिच सहकार्य विषयक बिचार गोष्ठी काभ्रेपलान्चोकको बनेपामा सम्पन्न भएको छ । नेपालमा भारत सरकार तथा भारतिय जनताका तर्फबाट विभिन्न क्षेत्रमा सहयोग हुँदै आएकोछ । शुलभ कर्जा, प्रविधि, अवलोकन भ्रमण आदान प्रदान, अनुदानका कार्यक्रममा सहयोग गर्न राष्ट्रिय सहकारी महासंघका संचालक, साना किसान लघु वित्त वित्तीय संस्थाका अध्यक्षसमेत रहनुभएका नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले आग्रह गर्नुभयो । चितवनमा रहेको केन्द्रीय संघको तालिम केन्द्रबाट देशभरि रहेका किसानलाई तालिम प्रदान गरिरहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाठकले आगामी दिनमा भारत सरकारबाट प्राविधक तथा आर्थिक सहयोगको अपेक्षा गर्दै उन्नत बीउ र रासायनिक मलमा सहयोग गर्न अनुरोध गर्नुभयो । नेपालका ७७ वटै जिल्लामा १२ सय भन्दा वढि साना किसान कृषि सहकारीहरू मार्फत १३ लाख घरपरिवारमा ३२ अर्ब पुँजी परिचालन गरिरहेको केन्द्रीय संघका अध्यक्ष पाठकले बताउनुभयो । कृषिको उत्पादन वृद्धि र उचित बजारीकरणमा भारत सरकारलाई सहयोगको अपिल गर्दै कृषि उपज ढुवानीका सवारी साधन उपलब्ध गराउन आग्रह गर्नुभयो । विचार गोष्ठीका विशिष्ट अतिथि नेपालकालागि भारतीय राजदुतावासका राजनीतिक प्रथम सचिव नवीन कुमार श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध विशिष्ट र सुमधुर रहँदै आएको बताउँदै आगामी दिनमा थप प्रगाढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
नेपालको कृषि प्रवर्द्धनमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न भारतीय सरकार तयार रहेको बताउदै आगामी दिनमा नेपालको सर्वाङ्गिण विकासमा भारत सरकार र भारतीय जनताका तर्फबाट निरन्तर सहयोग जारी रहने बताउनु भयो । साना किसान विकास लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले साना किसानहरूलाई सहुलियतपूर्ण कर्जा, वित्तीय साक्षरता, क्षमता अभिवृद्धिका कार्यक्रम संस्थाले उपलब्ध गराउदै आएको बताउनु भयो । भारतीय जनता र नेपाली जनताबिच भाईचाराको सम्बन्ध रहको बताउँदै डा. कोईरालाले आफुले विद्यावारिधि भारतबाटनै गर्दाको स्मरण गर्दै ३ वर्षसम्म घर, देश छोडेको महशुष नभएको, भारतमा रहँदा साथीहरूको घरमा खाना र खाजा पालैपालो खानेसमेत गरेको अनुभव सुनाउनु भयो । भाषा, संस्कृति, रहनसहन दुबै देशको एकरूपता रहेको वहाँले बताउनु भयो । नेपालको कृषि प्रवर्द्धनमा भारत सरकारसँग सहकार्य समन्वय गर्न साना किसान विकास लघु वित्त वित्तीय संस्था तयार र आतुर रहेको बताउनु भयो ।भारत सरकार तथा भारतीय जनताले नेपालको बृहत्तर विकासमा सधै साथ र सहयोग गर्दै आएको नेपाल भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सुर्य भुषालले बताउनुभयो । बिगत २०७२ सालको बिनासकारी भुकम्पबाट आहत नेपाललाई भारतले १ खरब भारतीय रूपियाँ सहयोगको प्रतिबद्धता गरेको बताउनुभयो । तर नेपाल सरकारले करिब ५० अरबको मात्र सहयोग सदुपयोग गर्न सकेको बताउँदै अध्यक्ष भुषालले बाँकी ५० अरब रकम नेपालको कृषि प्रवर्द्धनमा लगानी गर्नुपर्ने बताउनुभयो । नेपालको कृषि क्षेत्र र किसानकालागि साना किसान कृषि सहकारीहरूले अतुलनीय योगदान गरेको बताउनु भयो । नेपाल भारत मानव विकास तथा मैत्री संघ र नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजना तथा जिल्ला कृषि सहकारी सहकारी संघ काभ्रेपलान्चोक र काभ्रे मल्टिप्रपोज कृषि बजारको संयोजनमा भएको विचार गोष्ठी कार्यक्रमको सभापतित्व जिल्ला कृषि सहकारौ संघ काभ्रेका अध्यक्ष सुमन नेपालले गर्नुभएको थियो । उल्लेख्य किसानहरूको सहभागिता रहेको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतीसमेत रहेको थियो ।
