जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेले शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास अन्तर्गत मनसुन ३ अभ्यास सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतित्त्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनु पर्ने पूर्व तयारीका बारेमा डेमो प्रस्तुत गरिएको थियो । काभ्रे जिल्ला भूम्लू गा.पा वडा ८ दोलालघाट स्थित सुनकोशीको पुल आसपासका ईलाकाहरूमा श्री कालीजंग गणको नेतृत्वमा पूर्व अभ्यास गरिएको हो । श्री कालीजंग गणका सेनानी निरञ्जन खड्काको कमाण्डमा नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी काभ्रे, जनप्रतिनिधि तथा स्थानिय ब्यक्तिहरूको सहभागितामा पूर्व अभ्यास संचालन भएको थियो ।
मनसुन ३ संयुक्त अभ्यासले जिल्ला स्तरमा उपलब्ध क्षमता (पूर्व तयारी र प्रतिकार्य) को लेखाजोखा, मानवीय सहायतामा संलग्न निकायहरुको पहिचान, प्रतिकार्यको साझा मापदण्ड तयार र खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्ने श्री कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार गरिएको डेमो प्रस्तुत गरियो । कार्यक्रममा उपत्यका पृतनाका पृतनापति सागर बहादुर थापा ,२६ नम्बर बाहिनीका बाहिनीपती सुनिल घले, पालिकाका प्रमुख तथा उप प्रमुखहरु, प्रमुख जिलला अधिकारी पुण्य विक्रम पौडेल, नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रिराज तिमल्सिना, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकार, विद्यार्थी, रेडक्रसकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
