IMG-LOGO

काभ्रे जिल्लाको कथा साहित्यको कोशेढुंगा

 मंगल, मंसिर २३, २०७७  विजय सापकोटा

  झट्ट हेर्दा, विश्वबजारमा साहित्य जानुपर्ने बेलामा  ‘साहित्य र साहित्यकारलाई पनि कहीँ क्षेत्रीय र भेगीय घेरामा संकुचित बनाउनु हुन्छ’ भन्ने लाग्दछ । हुन पनि साहित्य सिर्जनाको कुनै भूगोल हुँदैन । तर कुनै पनि कृति र लेखक भूगोल र समग्र सामाजिक वातावरण अनि विशिष्टताभन्दा निरपेक्ष जन्मेको हुँदै हुँदैन । भलै उसको लेखनमा उसले आफ्नो परिवेशलाई फड्किए अर्कै संसारलाई किन नलेखोस् तर उसको लेखक व्यक्तिको निर्माणमा उसको परिवेशगत विशिष्टता, ऊ उभिएको भूमि र ऊ बाँचेको सामाजिक जीवनको प्रत्यक्ष, अप्रत्यक्ष प्रतिबिम्बन भएकै हुन्छ । साहित्यिक क्रियाकलापहरुकै कुरा गर्दा पनि साहित्यमा कुनै भेग, स्थानीयता वा कुनै सामाजिक, सांस्कृतिक विशिष्टताको कुरा गर्नु संकुचन होइन, त्यो भेग, क्षेत्र वा त्यहाँको वैशिष्ट्यसँग बृहत्त समुदायलाई साक्षात्कार गराउनु हो, त्यसको महत्तालाई प्रस्तुत गर्नु हो । 
    काभ्रेपलाञ्चोक जिल्लामा वाङ्मयको विकासको इतिहास पुरानो छ । मध्यकालदेखि नै यहाँ सिर्जनात्मक क्रियाकलापहरु हुने गरेको इतिहास छ । नेपाली साहित्यको प्राथमिकालदेखि नै यस भेगले नेपाली साहित्यमा दरिलो उपस्थिति जनाएको छ भने नेपाल भाषा र तामाङ भाषा साहित्यमा पनि यस क्षेत्रका प्रतिभाहरु गर्व गर्न लायक बलिया सिर्जना सहित विभिन्न कालखण्डदेखि वर्तमानसम्म अगाडि आएका छन् । लेखन सिर्जना र प्रकाशनका साथमा काभ्रेली वाङ्मयको अध्ययन, साहित्यिक गतिविधि, पत्रपत्रिकाको प्रकाशन एवम् विभिन्न साहित्यिक संगालो र संग्रहहरु पनि निरन्तर प्रकाशनमा आइरेहका छन् । यस्ता गतिविधिहरुले काभ्रेपलाञ्चोक जिल्लाको समग्र साहित्यिक क्रियाकलापलाई जीवन्त र समृद्ध तुल्याउने काम गरिरहेका छन् ।
    यस सन्दर्भमा हालै पनौती साहित्य समाजले एउटा ऐतिहासिक काम सम्पन्न गरेको छ ‘प्रतिनिधि काभ्रेली कथा संग्रह’ प्रकाशन गरेर । नेपाली आधुनिक कथा साहित्यका प्रथम कथाकार गुरुप्रसाद मैनाली यसै जिल्लाका भएको तथ्य त साहित्यका विद्यार्थीलाई थाहा नै छ । तर कथा प्रकाशन गर्ने प्रथम महिला कथाकार तुषारमल्लिकाको पुख्र्यौली घर पनि काभ्रेपलाञ्चोकको कुशादेवी हो भन्ने कुरा थोरैलाई मात्र थाहा छ । यो गर्व गर्न लायक इतिहास बोकेको यस जिल्लामा प्रारम्भदेखि अहिलेसम्म लेखिरहेका कथाकारहरुका कथालाई संग्रह गरी प्रकाशन गर्ने काम पहिलो पटक भएको छ ।
    ‘प्रतिनिधि काभ्रेली कथासंग्रह’ मा ३९ जना काभ्रेली कथाकारका कथाहरु संग्रह गरिएका छन् । नेपाली आधुनिक कथाको प्रारम्भ गर्ने गुरुप्रसाद मैनालीको ‘नासो’ कथा (प्रकाशन वि.सं. १९९२, शारदा पत्रिका) र प्रथम महिला कथाकार तुषारमल्लिकाको ‘स्त्रीरत्न’ (प्रकाशन वि.सं. १९९२ शारदा पत्रिका) देखि कृष्णप्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, ध्रुव सापकोटा, हरि अधिकारी, मोहन दुवाल, ज्ञानकाजी मानन्धर, टंकनाथ शास्त्री, ओतबहादुर खड्का, अम्बुभवानी कार्की, केशव थापा, तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, भारती श्रेष्ठ, डा. राजेन्द्र कोजू, डा. सुमनराज ताम्राकार, रामसुन्दर देउजा, सूर्यप्रसाद लाकोजू, ध्रुवकृष्ण ताम्राकार, सूर्य देउजा, हरिवंश आचार्य, हरिप्रसाद चौलागाईँ, अशोक व्याञ्जू, अनन्तप्रसाद वाग्ले, फूलमान बल, दिनमान गुर्मछान, विश्व सिग्देल, विजय सापकोटा, रमेश अधिकारी, दीपक सापकोटा, सुभद्रा दाहाल, पुरुषोत्तम कर्माचार्य, हीरामाया तामाङ, अनामिका सजल, रमा कणर्जीत, सूर्यभक्त कर्माचार्य, गीता दाहाल गरी ३९ जना कथाकारका कथाहरु यस संग्रहमा संकलन गरिएका छन् । 
    गुरुप्रसाद मैनालीको ‘नासो’ कथा नेपाली आधुनिक कथाको प्रारम्भबिन्दु मानिन्छ । तुषारमल्लिकाको ‘नारीरत्न’ लाई महिलाले लेखेको पहिलो नेपाली कथा मानिएको छ । वि.संं १९९० को महाभूकम्पको पृष्ठभूमिमा रचिएको यो ऐतिहासिक कथा प्रतिनिधि काभ्रेली कथामा समेटिनु निकै सरहानीय कुरा हो । हाललाई अप्राप्य जस्तै भइसकेको यो कथा खोज्ने तत्परताका लागि सम्पादक प्रा.डा.सुमनराज ताम्राकार र उनको टिमलाई धन्यवाद दिनै पर्ने हुन्छ ।
    संग्रहमा प्रख्यात हास्यकलाकार हरिवंश आचार्यलाई पनि समेटिएको छ । आचार्यको हास्यकथा ‘खसीको आत्मकथा’ यसमा समेटिएको छ भने चर्चित कवि मोहन दुवाल पनि कथाकारको रुपमा देखापरेका छन् । दुवालको ‘दशैँको राँगो’ कथामा पशुवधको कारुणिक अवस्था देखाइएको छ ।  
    विविध विषय र शैलीशिल्पमा कथा लेख्ने विभिन्न कालक्रमका ३९ जना काभ्रेली कथाकारहरुलाई समेटेको यस संग्रहका कथाहरुको गुणात्मकता र सबलताका बारेमा चर्चाको अर्को पाटो हुनसक्दछ । कति कथाकारहरु यसमा छुटेका पनि छन् । काभ्रे जिल्लामा पहिलो प्रकाशित कथा संग्रहका कथाकार दलभञ्जन कार्की, तीसको दशकदेखि कथा लेख्दै आएका युवराज मैनाली, हरि मञ्जुश्री, वलदेवराज महत, सुमन सौरभ, गोपाल पौड्याल मण्डने, सत्यश्वर मकै, नारायणश्री अधिकारी, उत्तम सापकोटा, दीपक नेपाल, दीपेन्द्र दोङ, गोविन्द कँडेल जस्ता संग्रह नै निकालिसकेका र निरन्तर लेखिरहेका कथाकारहरु छुटेका छन् । उल्लिखित कथाकारहरुलाई अर्को संस्करणमा थप्न सकियो भने निश्चय नै यो पूणर् प्रतिनिधि कथा संग्रह बन्न सक्नेछ ।  साहित्य लेख्नु प्रकाशन गर्नु व्यक्तिगत काम होला । तर यसरी संकलनमा आफ्नो समय खर्च गरी आफ्नो जन्म क्षेत्र र जिल्लाको वाङ्मयको अभिलेख बनाउने काम गर्नुचाहिँ समाज र समुदायको सेवा नै हो । त्यसैले निस्वार्थरुपले यो कठिन कार्यमा जुट्ने यस संग्रहका प्रधान सम्पादक प्रा.डा. सुमनराज ताम्राकार, सम्पादक रामसुन्दर देउजाका साथै पनौती साहित्य समाज धन्यवादका हकदार बनेका छन् । यस क्षेत्रको साहित्यिक इतिहासमा यो संग्रह अवश्य कोशेढुंगा साबित हुने छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्