काभ्रेका क्रियासील महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेको आयोजना र जिल्ला समन्वय समिती काभ्रेको समन्वयमा सन्चालन गरिएको तालिमको जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपक कुमार गौतमले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गौतमले काभ्रेका महिला पत्रकारहरुलाई अझ सशक्त बनाउन र महिलाहरुलाई मिडियामा स्थापित गराउनका लागि यस प्रकारका तालिम आवश्यक रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गराउन र उनीहरुको क्षमता अभिवृद्धि गर्न जिल्ला समन्वय समिति काभ्रेले सहयोग गरिरहेको र भोलिको दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले महिलाहरूलाई यस प्रकारका तालिमले उर्जा थप्ने बताउदै तालिममा सिकेको कुरालाई व्यवहारमा पनि उतार्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री राज तिमिल्सिनाले सूचनाको पहुँचमा समान व्यवहार हुनुपर्ने बताउदै तालिमले भोलिका दिनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिम बहादुर तामाङ, जिल्ला समन्वय अधिकारी शान्ति राज प्रसाईं, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघ काभ्रेका सल्लाहाकारहरु, जिल्ला स्थित प्रेस सम्बद्ध संगठनका अध्यक्षहरु, जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो । तालिममा आधारभूत पत्रकारिता, फोटो पत्रकारिता, रेडियो पत्रकारिता, फिचर समाचार लेखन लगायतका विषयमा प्रशिक्षण गराइएको थियो । तालिममा २२ जना पत्रकारहरु सहभागी रहेको तालिम संयोजक सुनिता सापकोटाले जानकारी दिनुभयो ।
